Public Pana
दसैं र तिहारमा घुम्नका लागि सात प्रदेशका १४ उत्कृष्ट गन्तव्य

दसैं नेपालीहरूका लागि पर्व मात्रै होइन, घुमफिर गर्ने मौसम पनि हो। पछिल्ला केही वर्षमा दसैं छेको पारेर घुम्न जाने चलन बढेको छ। गर्मी कम हुँदै जाने र चिसो पनि धेरै नहुने भएकाले यो मौसममा ट्रेकिङ जानेहरू झन् धेरै हुन्छन्।

तपाईँहरू पनि कहीँ जान मन गर्दै हुनुहुन्छ तर कहाँ जाने भन्ने अलमलमा हुनुहुन्छ? कसरी जाने, कति खर्च लाग्ला भन्ने पनि भएको होला।  यस्तै सोच्दै हुनुहुन्छ भने ‍यहाँ उल्लिखित गन्तव्य उपयुक्त हुनसक्छ। 

१) पोखरा


कास्की जिल्लामा पर्ने पोखरा नेपालको सबैभन्दा सुन्दर, सफा र रमणीय शहर लोकप्रिय गन्तब्य हो। 

अन्नपूर्ण हिमश्रृंखलाको काखमा बसेको शहर फेवाताल, महेन्द्र गुफा, डेभिड फल्स, विन्ध्यवासिनि मन्दिर, गुप्तेश्वर गुफा, चमेरी गुफा, सेती नदि, र अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालयल र लेकसाइड जस्ता घुम्ने ठाउँ प्रसस्तै छ। यो सँगै प्याराग्लाइडिङ , बञ्जीजम्प, क्यानोनिङ, जिपफ्लाइर, डुंगा शयर जस्ता विभिन्न शाहसिक पर्यटकीय गतिविधिमा समेत पर्यटकहरू भरपुर रमाउन सक्छन्। 

आन्तरिक र वाह्य पर्यटकको समेत रोजाइमा पहिलो नम्बरमा पर्ने गन्तब्य हो पोखरा। दसैं र चाड्वाड सहित अंग्रेजी र नेपाली नयाँ वर्षमा विदेशी र आन्तरिक पर्यटकको यहाँ घुइँचो लाग्ने गर्छ। हिमालको सुन्दर  र प्राकृतिक दृश्यावलोकनमा पर्यटकले भरपुर आनन्द लिन सकिन्छ। 

काठमाडौंदेखि २०० किमिमा दुरीमा पर्ने पोखरा बस, माइक्रो, जिप कारमा ६ घण्टा या हवाइजहाजमा सजिलै पुग्न सकिन्छ। 

२) सौराहा


चितवन राष्ट्रिय निकुञ्जमा पर्ने वाइल्ड लाइफ पर्यटनको लागी प्रमुख पर्यटकिय गन्तब्य हो सौरहा। वार्षिक रूपमा लाखौं विदेशी पर्यटक घुम्ने सौरहामा आन्तरिक पर्यटकको रोजाइमा पर्ने गन्तब्य हो। 

यहाँका प्रमुख आकर्षण मध्ये एक हात्ती सफारी हो। हात्तीमा शयर गर्दै एक सिंगे गैडा, जंगली हात्ती,बाघ, चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ।  राप्ती नदीमा डुंगा शयर गर्दै सुर्यास्तको दृश्य निकै रोमाञ्चक हुन्छ। यसको साथै थारू समुदायको सांस्कृतिक कार्यक्रमको मज्जा लिँदै होलिडे मनाउने उत्तम गन्तब्य हो। 

काठमाडौंदेखि करिब १६४ कि.मी दुरीमा रहेको सौराहा बस, माइक्रो, जीप कारमा ४-५ घण्टामा पुगिन्छ। यस्तै हवाईजहाजमा पनि सौराहा जान सकिन्छ। यहाँ बास बस्नलाई साना तथा ठूला प्रसस्त होटलहरु छन्।

३) लुम्बिनी


गौतम बुद्धको जन्मस्थल लुम्बिनी धार्मिक पर्यटकीय गन्तब्य हो। लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा पर्ने लुम्बिनी वोद्धगार्मीको लागि पवित्र स्थल हो। वर्षेनि हजारौं विदेशी तथा आन्तरिक तिर्थालुहरू लुम्बिनी दर्शन गर्न पुग्छन्।

विषेश गरि श्रीलंका, थाइल्याण्ड ,चीनको स्वशासित क्षेत्र तिवेट, भुटान, कम्वोडिया, जापानलगाएत  बौद्धगार्मीको पवित्र तिर्थस्थलको रूपमा घुम्ने आउँछन्। यहाँ मायादेवी मन्दिर, पोखरी, विभिन्न देशका गुम्बाहरू छन्।

काठमाडौंदेखि, वुटवल भैरहवासम्म ३२९ किमीको दुरी करिब १० घण्टा लाग्छ। त्यस्तै काठमाडौंबाट भैरहवा हवाइ सेवा उपलब्ध छ। 

४) इलाम


प्राकृतिक सौन्दर्य र चिया बगानले भरिपूर्ण इलामको कन्याम पूर्वी नेपालकै उत्कृष्ट पर्यटकीय स्थलमध्ये एक हो। यो मनोरमस्थल समुन्द्र सतहदेखि १६३७ मिटरमा अवस्थित छ।

देश र छिमेकी भारतबाट पर्यटकले इलामको कन्याममा होलिडे मनाउन पुग्ने गर्छन्। विशेष गरि तराईको गर्मी छल्न ठूलो संख्यामा पर्यटक यहाँ पुग्ने गर्छन्। उनीहरू त्यहाँ पुगेर चिसो मौसममा रमाउँदै चियावारी र प्राकृतिक सौन्दर्यको भरपुर आनन्द लिने गर्दछन्।

झापाको बिर्तामोडदेखि करिब ४७ किमि दूरिमा रहेको कन्याम गाडी यात्रामा करिब १ घन्टा ३० मिनेट लाग्छ। इलामको सूर्योदय नगरपालिकास्थित कन्याम देशकै प्रमुख पर्यटकीय स्थलहरु मध्ये एक हो।

कन्यामबाट फर्किदा इलामको चिया , छुर्पी, डल्ले खुर्शानी, ललिप चक्लेट, आदि कोशेलीको रूपमा ल्याउन सकिन्छ।

५) पाथिभरा


पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा समुन्द्र सतहदेखि ३७९४ मिटरको अवस्थित पाथिभरा मन्दिर प्रसिद्ध मन्दिर हो। फुङलिङ बजारबाट करिब २० किमी दूरीमा रहेको अलौकिक शक्ति भएकि देविको मन्दिर छ।

यो मन्दिरलाई लिम्बु समुदायले मुक्कुम्लुङ भनेर मान्छन्। मन्दिर दर्शन गर्न नेपाल लगायत छिमेकी देशबाट हजारौं तिर्थालु पुग्छन्। मन्दिरमा भाकल गर्छन्, मनोकामना पुरा हुने विश्वास राख्छन्। 

यहाँबाट ७ हजार भन्दा अग्लो कञ्चनजंघा हिमश्रृंखलाको लर्कन, विभिन्न प्रकारका वनस्पति र जीव जन्तुहरूको पाइने ठाउँ हो। हिन्दु,  बौद्धमार्गी, र किराँतीहरुले तिर्थस्थल हो पाथिभारा। 

उत्तरतर्फ सेताम्मे हिमालको लर्कन। ८५८६ मिटर अग्लो विश्वको तेस्रो अग्लो हिमाल कन्चनजङ्घा, फक्तालुङ हिमाल आँखा अगाडि देखिन्छ। 

झापाको चारआली, विर्तामोडदेखि इलाम, फिदिमहुँदै फुङलिङ बजार (ताप्लेजुङ) सुकेटार एयरपोर्ट २४५ किमि गाडि यात्रा। काठमाडौंदेखि भद्रपुर या सुकेटार हवाइमार्ग। सुकेटार एयरपोर्टदेखि देउराली, छाते ढुंगा, भालु गौडे, काफ्लेपाटी ९.५ किमि कच्ची गाडीको सडक। काफ्लेपाटी, ठूलोफेदिहुँदै पाथिभारा या मुक्कुमलुङसम्म ५ किमी पैदल मार्ग।

६) जानकी मन्दिर , जनकपुर


जानकी मन्दिर अर्थात सीता जन्मस्थल जनकपुरस्थित पवित्र हिन्दूहरुको पवित्र धर्मिकस्थल हो। यस मन्दिरलाई मुगल शैलीमा बनाइएको कलाको उत्कृष्ट नमुनाको रुपमा मानिन्छ। प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो।

सन् १९११ मा मन्दिर निर्माण भएको मन्दिर भव्य र आकर्षक छ। रामनवमी, जानकी नवमी, रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन-भदौमा झुला, फागुनमा परिक्रमालगायत धुमधामले मनाइन्छ। प्रत्येक महिनाका पूणिर्मामा हजारौं श्रद्धालु भक्तजन सहभागी हुन्छन्। धार्मिक र सांस्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरको रूपमा रहेको छ जानकी मन्दिर।

काठमाडौंबाट जनकपुर २६५ किलोमिटर दूरी ८-९ घण्टाको बस यात्रामा पुगिन्छ। साथै, हवाईजहाज पनि चल्छ।

७) जिरी


समुन्द्र सतहबाट करिब १९०० मि को उचाईमा रहको जिरी उपत्यका प्राकृतिक र सौन्दर्यले भरिपूर्ण पर्यटकीय स्थल हो। दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट करिब ५६ किमी पूर्वमा पर्छ यो स्थान। नेपालको स्वीजरल्याण्डका रूपले पनि परिचित छ। 

काठमाडौंदेखि करिब दुई सय किमीको दुरीमा अवस्थित जिरी आन्तरिक र बाह्रय पर्यटकको लागि शहरको कोलाहाल बिर्सेर होलिडे मनाउने आर्कषक गन्तव्य हो। 

परिवार र साथीभाइसहित जिरी पुगेर केही दिन बिताउन सकिन्छ। यहाँ लिंकन बजार, बुद्ध पार्कमा निर्मित बौद्ध स्तुपा, चेर्दोङ्ग चिज कारखाना, हनुमन्ते डाँडा, बुलबुल डाँडा, लौती झर्ना, हलेसी महादेवको मन्दिर, याक ग्यालरी, याक चिज उत्पादन केन्द्र, हेर्न लायक ठाउँ हुन्। 

स्वीस भूगर्वविद्ध टोनी हेगनको स्मृतिमा रमिते डाँडामा निमार्ण भएको पर्यावरण पार्क, बजारदेखि पूर्वतर्फ रहेको जिरेश्वर महादेवको मन्दिर, चिया बगान, चेर्दोङ डाँडा, जिरेल र शेर्पा बस्ती र तिनका संस्कृति, व्यवसायिक पशुपालन फार्म, एलुङ उपत्यका आसपासका क्षेत्रहरु प्रमुख पर्यटकीय आर्कषणका केन्द्र छन्।

काठमाडौं–लामोसाँघु–जिरीसम्म १ सय ८८ किमी। कोटेश्वरबाट जिप र पुरानो बसपार्कबाट बस तथा माइक्रोबस नियमित छुट्छ।

८) रारा ताल 


मुगु जिल्लामा रहेको रारा ताल नेपालकै सबैभन्दा ठूलो तालको रुपमा लिईन्छ। समुन्द्र सतहबाट करिव २९९० मिटरको उचाइमा रहेको रारा तालको लम्बाई ३.२ किलोमिटर र १ सय ६७ मिटर गहिरो छ । यसको क्षेत्रफल कुल १०.८ किलोमिटरमा फैलिएको छ।

रारा ताल हवाई तथा स्थलमार्गबाट पुगिन्छ। हवाई मार्गबाट मुगुको ताल्चा विमानस्थलबाट करिब दुई घन्टा हिँडेर रारा ताल पुग्न सकिन्छ। 

काठमाडौंबाट जिप र मोटरसाइकलमा रारा पुग्न सकिन्छ। त्यसरी सुर्खेत भएर कालीकोट, जुम्लाको नाग्म हुँदै रारा पुग्न करीब तीन दिन लाग्छ।

९) खप्तड


प्राकृतिक सौन्दर्यको अनुपम भण्डार हो खप्तड। भूस्वर्ग रुपमा परिचित खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, शिवमन्दिर, सहस्रलिंग, केदारढुंगा, त्रिवेणी नदी, दहहरू जस्ता प्रसस्त धार्मिक स्थलहरू छन्। २२ पोखरी ५३ टाकुरीले पनि चिनिन्छ खप्तड। 

समुद्र सतहदेखि १,२६२ देखि ३,२७६ मिटरसम्म उचाइमा छ खप्तड। त्यहाँ २२ वटा ठूला ठूला पाटनहरू छन् जहाँ चराचुरूङ्गी, जंगली जीवजन्तु वनस्पति, जडिबुटीले भरिपूर्ण छ।

त्रिवेणीधाममा वर्षेनि गंगा दसहराका बेला जेठ–असारमा मेला लाग्दछ र गंगा, जमुना र सरस्वती नदीको संगममा नुहाउँदा पाप पखालिने जनविश्वास रहेको छ। काठमाडौंबाट धनगढी ६५० किमि, बसमा करिव १४ घण्टा। त्यसैगरी काठमाडौंदेखि धनगढी हवाई यात्रा १ घण्टा १० मिनेट। धनगढीवाट सिलगढी २०० किमि, बसमा ८ घण्टा लाग्छ।

सिलगढीबाट जिपमा चार घण्टा झिग्राना, त्यसपछि ५-६ घण्टा पैदलमार्ग बीचपानीमा बास बसेपछि अर्को दिन एक बिहानीमा खप्तड । 

१०) फोक्सुन्डो


डोल्पा जिल्लामा पर्ने फोक्सुण्डो ताल समुद्र सतहदेखि करिब ३६११ मिटरको उचाईमा पर्छ। साह्रै सुन्दर र निश्चल ताल। ताल छेवैमा हिमाली सुन्दर रिग्म गाउँ।

फोक्सुन्डो ताल नेपालकै गहिरो ताल मानिन्छ। डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–८ को डोल्पामा पर्ने तालको क्षेत्रफल ३६११ बर्ग मिटर छ । यसको लम्बाइ ५.९३ कि.मी., चौडाइ १.८० कि.मी‍. र गहिराई १४५ मिटर रहेको छ ।  केही पर उत्तरतिर तालको किनारैमा ६०० वर्षभन्दा पुरानो थासी छोलिङ बोन गुम्बा छ। 

काठमाडौंदेखि नेपालगञ्जसम्म जुफालसम्म हवाई यात्रा। त्यस्तै काठमाडौं-कोहोलपुर-छिन्चु-जाजरकोट-राडीज्यूला (बसयात्रा)। त्यहाँबाट सुलीगाडसम्म जीप यात्रा।  डोल्पाको सुलिगाडबाट दुई दिन एक बिहानको पैदलयात्रामा फोकसुण्डो तालमा पुगिन्छ।

११. कुश्मा


पछिल्लो समय पर्वत जिल्लाको कुश्मा साहसिक पर्यटकको गन्तव्यको रुपमा परिचित बनाउन सफल भएको छ। नेपालकै लामा र अग्ला झोलुंगे पुल, विश्वको दोस्रो अग्लो बन्जीजम्प र अग्लो स्वीङ, जिपलाईन, क्यानोनिङलगायत साहसिक गतिविधिले कुश्माले नाम कमाएको छ। 

यो सँगै स्काई साइक्लिङ, गुलेली पिङ, स्काई ब्रिज लगायतले आन्तरिक पर्यटकको ध्यान तानिरहेको छ। 

कुश्मा धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको कालिगण्डकीको तिरमा अवस्थित शहरमा पुमोदिबेनी दिव्यधाम, गुप्तेस्वर गुफा, कुश्मा ज्ञादी झोलुङ्गे पुल, अलपेस्वर गुफा, दुर्लुङ्ग कोट यहाँका मुख्य पर्यटकिय आर्कषण हुन्। यसको साथै करिब ३०० वर्ष पुरानो शताब्दी घर पनि आकर्षक केन्द्र स्थल हो। पोखराबाट ६० किलोमिटर दूरी रहेको कुश्मा पुग्न करिब डेढ–दुई घन्टा लाग्छ।

१२. पुनहिल

 

दसैं विदामा एक हप्ता घुम्न जानेहरुका लागि पुनहिल यात्रा उपयुक्त हुन्छ । ५ रात ६ दिनका लागि पुनहिल यात्रा उपयुक्त छ । धौलागिरी हिमाल हेर्दै पदयात्रा गर्नेलाई यो यात्राले भरपूर मनोरञ्जन दिन्छ ।

पुनहिल पदयात्रामा बास बस्न समस्या छैन । पर्यटकीय नगरी पोखराबाट पुनहिल यात्रामा प्यारागलाईडिङको पनि मजा लिन सकिन्छ । प्याराग्लाईडिङका लागि भने थप एकदिन छुट्याउनुपर्छ ।

पोखराबाट नयापूलसम्म सवारीसाधनको सुविधा छ । नयापूलबाट शुरु हुन्छ पुनहिल पदयात्रा पोखराबाट नयापूलसम्म गाडी र त्यहाँबाट पैदल हिंड्दा हिले पुग्न सकिन्छ । पदयात्राको दोस्रो दिन म्याग्दीको घोडेपानी पुगिन्छ ।

समुद्री सतहबाट २९०० मिटरमा उचाईमा अवस्थित घोडेपानीबाट एकघण्टाको ठाडो उकालो चढेपछि पुनहिल डाँडामा पुगिन्छ । समुद्रीसतहबाट ३ हजार २ सय १० मिटर उचाईको पुनहिलबाट धौलागीरी, अन्नपुर्ण माछापुच्छे, निलगीरीसहित १५ वटा हिमालको मनोरम दृश्य हेर्न पाईन्छ ।

पुनहिलको अर्को विशेषता धौलागिरीमा सुर्योदयको दृश्य हेर्न पाउनु पनि हो । धौलागीरीसहित माछापुच्छ्रे र निलगिरी हिमालबाट सूर्य उदाएको दृश्य हेरेपछि यात्राभरीको थकान भुल्न सकिन्छ।

१३. गोसाइँकुण्ड

धार्मिक तीर्थस्थल गोसाइँकुण्ड पनि ट्रेकिङका लागि राम्रो रूट हो। लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेको गोसाइँकुण्ड ताल समुद्री सतहबाट ४३८० मिटरको उचाइमा छ। रसुवाको यस ताल हिमाली दृश्यले घेरिएकाले पदयात्रा गर्दा छुट्टै रमाइलो हुन्छ। पहिलो दिन काठमाडौंबाट ६ घन्टाको बस यात्रामार्फत धुन्चेमा बास बस्न पुगिन्छ।

दोस्रो दिन धुन्चेबाट पदयात्रा सुरू हुन्छ। त्यहाँबाट ठूलो चन्दनबारीसम्म जाने। तेस्रो दिन चन्दनबारीबाट करिब ६ घन्टा हिँडेपछि गोसाइँकुण्ड पुगिन्छ। चौथो दिन गोसाइँकुण्डबाट ट्रेक गर्दै धुन्चेमा आएर बस्ने र पाँचौं दिन काठमाडौं फर्किन सकिनेछ। 

विशेषगरी गोसाइँकुण्ड पदयात्राले हिमालयको दृश्य, ताल, राष्ट्रिय निकुञ्ज मनोरञ्जन दिनेछ। लाङटाङ, लिरुङ, गाङछेन्पो, दोक्पु चुचुरो, नया कांगरी, याला चुचुरो, गणेश हिमाल, मनास्लु हिमाल लगायत धेरै चुचुराहरू गोसाइँकुण्ड घुम्दै गर्दा पदयात्रीहरूले हेर्न सक्छन्। 

यो गन्तव्यमा ट्रेकिङ गर्दा बस्न राम्रा होटल टि-हाउस र लजहरू उपलब्ध छन्। पदयात्रा गर्दैगर्दा लाग्ने खर्च भने निश्चित हुँदैन। त्यसमा खर्च कति गर्ने कस्तो खाना खाने भन्ने कुरा पदयात्रीमा भर पर्छ। नेपाली खाना खाँदै यो यात्रा गरेमा ५ दिन गोसाइँकुण्ड जान करिब १५ हजार रूपैयाँ चाहिन्छ।

१४. मर्दी हिमाल 

हिमाली क्षेत्रको ट्रेकिङ सुन्नासाथ घन्चमन्चमा बसिरहेका अधिकांशलाई रमाइलो लाग्छ। मनमा उत्साह भरिन्छ। यस्तै उत्साहित हुनेहरूका लागि हो मर्दी हिमाल पदयात्रा।

 

मर्दी हिमाल अन्नपूर्ण आधार शिविरको छेउसम्म पुगिने पदयात्रा हो। वर्षको दुई सिजन गरेर पाँच महिना यहाँ जान सबभन्दा उपयुक्त महिना हुन्; मार्च, अप्रिल, मे र अक्टोबर, नोभेम्बर।

काठमाडौंबाट मर्दीसम्म जानेहरूले ५ दिनको समय छुट्याए पुग्छ।

पहिलो दिन काठमाडौंबाट धम्पुस (अस्ट्रेलियन क्याम्प) पुगिन्छ। दोस्रो दिन धम्पुसबाट मर्दी हिमाल बेस क्याम्प (लो-क्याम्प) पुगिन्छ। आधार शिविरबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमाल नियाल्न सकिन्छ। त्यस्तै लमजुङ बजार, घान्द्रुक, लान्द्रुक लगायत ठाउँका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। 

आधार शिविरबाट यी दृश्य हेर्दै तेस्रो दिन हाइ-क्याम्पसम्म पुगिन्छ। तेस्रो रात हाइ-क्याम्पको बसेर रमाइलो गर्न सकिन्छ।

चौथो दिन भने फर्किनुपर्छ। यो दिन हाइ-क्याम्पबाट पोखरासम्मको यात्रा हुनेछ। यसपछि समय मिले सोही दिन नभए एक रात पोखरा बसेर भोलिपल्ट काठमाडौं आउँदा हुन्छ। पर्यटन व्यवसायीहरूका अनुसार यो यात्राका लागि कम्तीमा १५ हजार रूपैयाँ खर्च चाहिन्छ।

यो पदयात्रा विभिन्न ट्राभल कम्पनीहरूमार्फत पनि जान सकिन्छ। त्यसरी जाँदा पाँच जनाको समूह बनायो भने जीपमा जान पाइन्छ। खाने र बस्ने व्यवस्था कम्पनीले गरिदिन्छ। साथमा एक जना ट्रेकिङ गाइड पनि व्यवस्था हुन्छ। 

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update