Public Pana
हुम्लामा सिकिस्त बिरामी गर्भवती महिलाको हेलीकप्टरबाट उद्धार
तीन दिनदेखि उच्च रक्तस्रावबाट थलिएकी हुम्लाको मध्यभेगमा पर्ने सर्केगाड गाउँपालिका७ रोडीकोटका ३२ वर्षीया धनकौरा शाहीको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
शाहीको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको हो। 
गर्भवती शाहीको शरीरबाट अत्यधिक रक्तस्रावका कारण अवस्था गम्भीर भएपछि  सर्केगार्ड गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय, जिल्ला अस्पताल र स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले जानकारी दिनुभयो। उच्च रक्तस्रावले थलिएकी शाहीको आइतबार रातिबाट अवस्था  चिन्ताजनक बनेको उहाँको भनाइ छ। 
उनको सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाई उद्धार सेवा सुरु भएपछि दुर्गम हुम्लाका महिलाले राहत पाएका छन्। जनशक्ति र उपकरणको व्यवस्था नहुँदा दक्षिणी क्षेत्रका सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा व्यथा लागेका गर्भवतीका लागि यो कार्यक्रमले वरदान साबित भएको प्रमुख सिंहको भनाइ छ। 
यो वर्ष शाहीसहित आठ महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिंहको भनाइ छ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update