Public Pana
अब नेपालमा ठूलो पानी नपर्ने, मनसुनको असर क्रमशः घट्दै

हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन अन्त्य हुने बाटोतिर लागेको छ।

आज भन्दा भोलि, भोलिभन्दा पर्सी नेपालमा आंशिक बदली हुने र वर्षाको सम्भावना घट्दो छ। यस्त अब भारी वर्षाको सम्भाना नरहेको मौसमविदहरूले जानकारी दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालि नेपालबाट मनसुन यहीँ दिनबाट बाहिरिन्छ भनेर किटानी गर्न नसकिए पनि फुलपातीको दिनलाई औसत मिति पारेर १-२ दिन तलमाथि पारेर बाहिरिने मौसमविद्ले जानकारी दिएका छन्।

‘यसपालिको साधारणतया मनसुन सकिने मिति अक्टुर २ अर्थात असोज १६ हो। अब त्यहीँ मितिमा सकिन्छ भन्ने हुँदैन त्यसको १-२ दिन तलमाथि हुनसक्छ’, वरिष्ठ मौसमविद् मानन्धरले भनिन्, ‘मनसुन भइरहेपछि पानी परिरहन्छ भन्ने हुन्न। तर केही दिनका लागि आज भन्दा भोलि र भोलि भन्दा पर्सी सुधारात्मक छ।’

मनसुन अन्त्य हुनाका लागि मनसुनको न्यून चापीय रेखा बिस्तारै हट्दै जानुपर्छ र दक्षिण पूर्वी हावाको सट्टा पश्चिमी हावा बहन सुरू हुनुपर्छ।

मौसमी तथ्याङ्क हेर्दा सन् २००२ बाहेक सबै वर्ष मनसुन औसतभन्दा ढिलासम्म सक्रिय रहेको छ। सन् २०१३ मा त नेपालमा अक्टोबर १९ सम्म मनसुन सक्रिय रहेको मौसमविद् बताउँछन्।

नेपालमा मुख्यगरी मनसुन बङ्गालको खाडीबाट प्रवेश गर्छ। केही मात्रामा अरेबियन सागरबाट समेत प्रवेश गर्ने गरेको छ। नेपालमा हिउँदमा वर्षा गराउने पश्चिमी वायु भने भूमध्य सागरबाट प्रवेश गर्ने गरेको छ।

नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको चार महिनामा मनसुनको समयमा कूल वर्षाको ८० प्रतिशत वर्षा हुन्छ। यसैगरी प्रि मनसुनको समय (मार्चदेखि मेसम्म) मा करिब १२, मनसुनपछि (अक्टोबर र नोभेम्बर) चार र हिउँद् (डिसेम्बरदेखि फेब्रुअरी) तीन दशमलव पाँच प्रतिशत वर्षा हुने गरेको छ।

अझै पनि मुलुकका विभिन्न क्षेत्रमा भने मनसुनी गतिविधि कायमै रहेको छ। आज प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने आकलन महाशाखाले गरेको छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भने वर्षा हुनेसक्ने देखिएको छ। शनिबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै शनिबार राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

आइतबार पनि देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update