Public Pana
नेपालमा अमेरिका र चीनबीच कुटनीतिक वार, चीनको झुठो प्रचारको प्रतिवाद गर्न भन्दै अमेरिकी अधिकारी भोली नेपाल आउँदै

कार्यवाहक अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो भोलि बुधबार नेपाल भ्रमणमा आउने भएकी छन्। 

ट्रुडो विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री हुन्।

अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारी ट्रुडोले नेपालमा रहँदा मिथ्या सूचना र लोकतन्त्रमा सञ्चारको भूमिकाबारे विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्तिमा जनाएको छ। 

अमेरिकाले चीनले नेपालमा अमेरिकी परियोजनाविरुद्ध भ्रमपूर्ण सूचना फैलाएको आरोप लगाइरहेको छ। नेपाल भ्रमणमा आउन लागेकी अमेरिकी वरिष्ठ कूटनीतिज्ञ ट्रुडोले चीनका तर्फबाट अमेरिका र अमेरिकी मान्यताविरुद्ध फैलाइएका मिथ्या सूचनाको प्रतिवाद कसरी गर्न सकिन्छ भन्नेबारे छलफल गर्नेछिन्। 

अमेरिकी विदेश मन्त्रालय स्टेट डिपार्टमेन्टका अनुसार उनले नेपालमा रहँदा अल्पसंख्यक समूहका अभियन्ता र सञ्चार क्षेत्रका व्यक्तिसँग भेट्नेछिन्। उनले विगतमा अमेरिकी दूतावासको प्रायोजनामा अमेरिका भ्रमण गरेका केही नेपालीसँग पनि छलफल गर्नेछिन्। नेपाल बसाइमा ट्रुडोले अमेरिकी राजदूत सम्पदा संरक्षण कोषले सहयोग गरिरहेका पाटन दरबार क्षेत्र र वसन्तपुर दरबार क्षेत्रलगायत सांस्कृतिक सम्पदा अवलोकन गर्नेछिन्। 

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update