Public Pana
कोशीका मुख्यमन्त्रीको राजीनामा माग

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा माग गरेको छ ।

 

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले राजीनामा माग गरिएको हो ।

 

कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले विज्ञप्ति जारी गर्दै अल्पमतमा परेका मुख्यमन्त्री कार्कीलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

 

मुख्यमन्त्री कार्कीले भने संसद अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेका छन् । अध्यादेशमार्फत बजेट ल्याए प्रदेशमा झन् अस्थिरता थपिने कांग्रेसको भनाइ छ ।

 

नयाँ सरकारको गृहकार्यमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई पनि बहुमत जुटाउन कठिन छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । एमालेसँग ४० र राप्रपासँग ६ जना सांसद छन्

नयाँ सरकार गठनको तयारीमा रहेका कांग्रेससँग २९, माओवादी केन्द्रसँग १२, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ जना मात्र सांसद छन् । दुबै पक्षसँग ४६ /४६ सांसदको समर्थन छ । माओवादी केन्द्रबाट निर्वाचित भएका बाबुराम गौतम सभामुख भएकाले उनी तटस्थ भूमिकामा छन् ।

 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ००:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update