Public Pana
अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा चिनियाँसहित दुई जना पक्राउ

अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपास गरेको आरोपमा प्रहरीले चिनियाँसहित दुई जनालाई पक्राउ गरेको छ । 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार दुई जनालाई पक्राउ गरेको प्रवक्ता एसपी संजयसिंह थापाले बताए ।

ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली खरिबोट बस्ने ३२ वर्षीय चिनियाँ नागरिक झाओ जियङपेङ र सिन्धुपाल्चोक घर भई काठमाडौं महानरगपालिका-१६ बस्ने २२ वर्षीय गणेश श्रेष्ठलाई पक्राउ गरेको हो ।

arrest-11680507041.jpg

टिकाथलीमा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचना सिआइबीले पाएको थियो। त्यसपछि प्रहरीले उक्त स्थानमा निगरानी गर्न थालेको थियो । 

 

उनीहरूबाट विभिन्न विदेशी मुलुकका मुद्राहरू पनि बरामद गरिएको प्रहरीको भनाइ छ । उनीहरूबाट ४ लाख ८० हजार रुपैयाँ, एक हजार ९२५ अमेरिकी डलर, २५ लाख २५ हजार इन्डोनेसियन रुपिया, एक लाख १४ हजार ७७० श्रीलंकन रूपी, १० हजार ५०० आइसल्यान्डिक क्रोन, ५ सय चाइनिज येन, २ लाख ६० हजार म्यानमार क्याट बरामद भएको हो ।

voip Call-bypass-CIB-Nepal-Police1686167416.jpgदूरसंचार ऐन, २०५३ अन्तर्गत ललितपुर जिल्ला अदालतबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।

के हो कल बाइपास ? 

download1686156646.jpeg

सामान्यतया कल बाइपास भनेको सोझै आउनुपर्ने कललाई बीचमा छिरेर अर्कै बाटोमार्फत पठाउनु हो । सामान्यतया अन्तर्राष्ट्रिय कल नेपाल भित्रिनका लागि तीन पक्ष संलग्न हुने गर्छन् ।

एउटा कल पठाउने संस्था, दोस्रो त्यस्ता संस्थाले पठाएको कल बोकेर पठाउने क्यारियर र तेस्रो दूरसञ्चार सेवा प्रदायक (नेपाल टेलिकम , एनसेल जस्ता कम्पनी) । यो बीचमा गेटवेले एउटा नेटवर्कदेखि अर्को नेटवर्कलाई जोड्ने काम गर्दछ ।

टेलिकम, एनसेल लगायतले अन्तर्राष्ट्रिय कल तथा एसएमएस नेपाल भित्र्याउन नेपालमा दूरसञ्चार प्राधिकरणबाट लाइसेन्स पाएका छन् । पठाउने संस्थाबाट नेपालका दूरसञ्चार सेवा प्रदायकको सर्भरमा टर्मिनेट भएर कल तथा एसएमएस आउने प्रक्रियालाई वैधानिक मानिन्छ ।

तर, बीचमा अमुक समूहले नेपाल बाहिरबाट आएको कललाई आफ्नो रुटमा डाइभर्ट अर्थात बाइपास गरि अन्तर्राष्ट्रिय कललाई लोकल कलका रूपमा प्रयोगकर्ताको मोबाइल नम्बरमा पुर्‍याउने काम गरिरहेको छ ।

लोकल नम्बरबाट आएको कल सस्तो हुने भएकाले सेवा प्रदायकले पनि त्यसै अनुसारको शुल्क असुल्ने काम गर्छन् । उदाहरणको लागि यदि अमेरिकाबाट सोझै टेलिकमको सर्भर हुँदै एसएमएस आयो भने कम्पनीले प्रति एसएमएस ७ रुपैयाँ आम्दानी गर्न सक्ला ।

तर, बीचमा भीओआईपी (भोइस ओभर इन्टरनेट प्रोटोकल) वा जीओआईपी (जीएसएम ओभर इन्टरनेट प्रोटोकल) अथवा दूरसञ्चार प्रदायकका सीम कार्ड प्रयोग गरेर अवैध बाटोमार्फत बाइपास गरी लोकल नम्बरबाट कल पठाउँदा एक रुपैयाँ रुपैयाँमात्रै आम्दानी हुन्छ । यसरी बीचबाट बाइपास गर्ने व्यक्तिले प्रति कल छ रुपैयाँसम्म आम्दानी गर्छन् । जसबाट नेपाल टेलिकम लगायतका दूरसञ्चार सेवा प्रदायकहरुले ठूलो नोक्सानी ब्यहोर्नु परी रहेको छ।

voip call system1686167640.png

 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  २२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update