Public Pana
वामदेव गौतम एमालेमा फर्कन तयार

राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतम नेकपा (एमाले) मा प्रवेश गर्न तयार हुनु भएको छ । 
पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्वन गर्ने एमालेले निर्णय गरेलगत्तै उहाँले बुधवार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरुसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिनुभएको हो ।

तर त्यसका लागि अध्यक्ष केपी ओलीले आफूलाई प्रश्ताव गर्नुपर्ने एमालेका उपाध्यक्ष समेत रहिसक्नु भएको गौतमको शर्त छ । विगतमा आफूलाई रोक्नकै लागि सो प्रश्ताव ल्याइएको गौतमको बुझाई छ ।

उहाँले एमाले ओलीसँग भएकाले ओलीले नै आफूलाई पार्टीमा आउन भन्नुपर्ने तर्क गर्नुभयो । एमाले आफूले निर्माण गरेको पार्टी रहेको भन्दै गौतमले एमालेप्रति माया लाग्ने बताउनु भयो ।

उहाँले आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको बताउनु भयो । उहाँले केही दिन भित्र पार्टी सदस्यता नविकरण गर्ने समेत बताउनु भयो । गौतमले आफू एमालेमा अध्यक्ष वा महासचिव बन्नका लागि जान नलागेको पनि बताउनु भयो । 


यसैबीच, पार्टी अध्यक्ष ओलीले पनि गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताउनु भयो । बुधवार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उम्मेर हद हटाउने हो भने वामदेव गौतमले एमाले आउने कुरा गर्नुभयो नि भनि प्रश्न गरेका थिए ।

ओलीले अब थप केही कुरा छ र ? भन्ने प्रतिक्रिया दिनुभयो । उहाँले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको बताउनु भयो । 
ओलीले भन्नुभयो, ‘उहाँले सदस्यता ती छ भन्नु भयो होइन ।

अनि, कुरा बाँकि छ केही छ थप कुरा ? उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनु भयो । एकता अभियान चलाउनु भयो । त्यो अभियान मात्रै हो ।

पार्टी खोलेको होइन ।  एमालेमा जान्छु भन्नुभएको छ । त्यो ठिक छ । ठिक छ । उहाँको पार्टी सदस्यता एमालेमै छ ।’ ओलीले एमालेमा जान्छु भन्ने गौतमको भनाई ठिक भएको पनि बताउनु भयो ।

 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update