Public Pana
बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित भयो भन्ने सुनेको छुः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले आगामी आर्थिक वर्षको बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित गरेको भन्दै सरकारसँग जवाफ माग्ने बताउनुभएको छ । 
बुधवार अस्ट्रेलियाबाट स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजेट तीन जिल्लामा मात्रै मुख्य केन्द्रित गरेर ल्याएको भन्ने बारेमा त्यसको आधार खोज्ने बताउनु भयो ।

उहाँले आधार बिना बजेट तीन जिल्लामा मात्रै केन्द्रित गर्न नमिल्ने बताउनु भयो । उहाँले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया पाएको बताउनु भयो ।

उहाँले सबै प्रक्रियालाई विचार गरेर भ्रमण भएको हो वा होइन भन्नेबारेमा पार्टीका नेता र सत्तारुढ दलका नेताहरुसँग बुझ्ने पनि बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘बजेटबारे मैले केही टिप्पणी सुनेँ, बजेट जति सबै डडेलधुरा र गोरखामा केन्द्रित गरियो भन्ने सुनेँ । नुवाकोटमा पनि केन्द्रित गरियो भन्ने हिसावले गरिएछ । यो सुन्नमा आयो, त्यसको कुनै आधार छ भने बेग्लै कुरा भयो, नत्र कुनै आधारमा टेक्नै पर्ने थियो, सरकारका प्रधानमन्त्रीलाई कति जानकारी भएको हो भन्नेमा बुझ्नुपर्नेछ । प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया आयो । त्यसैले सबै प्रक्रियालाई विचार गरेर गरिएको हो की होइन, यसबारेमा सबैकुरा बुझ्न बाँकी छ, पार्टीका नेता र सत्तामा रहेका नेताहरुसँग भेटेर कुरा गर्नेछु ।’

 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update