Public Pana
एनआरएनएमा ‘एकता महाधिवेशन’ गर्न शेष घले तयार


गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घले र वहालवाला महासचिव गौरीराज जोशीबीच भेटवार्ता भएको छ ।
अमेरिका भम्रणमा रहेका घले र जोशीबीच टेक्सासमा भेटवार्ता भएको हो। भेटमा संघलाई अब एक ढिक्का बनाउने विषयमा कुराकानी भएको छ ।
१० औं महाधिवेशनका बेला विवाद भएपछि घलेले कोरियाका विनोद कुवँरको नेतृत्वमा छुट्टै ‘एनआरएनए’ को घोषणा गरेका थिए। त्यसयता उनको संस्थापन पक्षसँग सम्बन्ध ‘चिसिए’को थियो ।
घलेले केही दिनअघि मात्र क्यानाडामा आफ्नो पक्षको सम्मेलन गरेका थिए। टोरोन्टोमा दुई दिने सम्मेलन सकाएर उनी अमेरिकी भम्रणमा निस्केका हुन् ।
भेटमा महासचिव जोशीले विगतका तिता–मीठा कुरालाई बिर्सिएर अव एकताको विकल्प नरहेको बताउँदै यसका लागि सकारात्मक भुमिका निर्वाह गर्न घलेलाई आग्रह गरेका थिए ।
जवाफमा घलेले आफू एकता विरोधी नभएको बताउँदै संघलाई एक ढिक्का बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
घलले आगामी महाधिवेशनको विषयमा पनि महासचिव जोशीसँग चासो राखेका थिए। घलेले सबै पंञ्जीकृत सदस्यलाई मतादानको अधिकार दिनुपर्ने अडान राखेका थिए । सम्मेलन प्रत्यक्ष र अनलाइन दुवै माध्यमबाट हुनेभएपछि सबै सदस्यलाई भोट हाल्ने व्यवस्था मिलाउन उनले जोड दिएका थिए ।
घलेले विगतको अधिवेशनको कुरा उठाउँदै त्यसबेला आफूले पाएको जिम्मेवारी पूरा मात्र गरेको बताउँदै संघ फुटाउन आफूमाथि लागेको आरोपको बचाउ गरेका थिए ।
घलेले विधानविपरीत जाने छुट कसैलाई नभएको बताएका थिए ।
आगामी महाधिवेशन एकताको महाधिवेशन गर्नुपर्ने जोशीको आग्रहमा घलेले आफूले भरपूर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update