Public Pana
अघि बढ्ला त पञ्चेश्वर बहुउद्देश्यीय आयोजना ?

लामो समयदेखि अध्ययनको चक्रबाट बाहिर निस्कन नसकेको पञ्चेश्वरलाई गति दिन पुनः नेपाल र भारत सहमत भएका छन् । नेपाल र भारतका जलस्रोत सचिवस्तरीय संयन्त्र संयुक्त जलस्रोत समितिको यही असोज ५ र ६ गते काठमाडौँमा सम्पन्न बैठकले उक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) लाई आगामी तीन महिनाभित्र टुङुगो लगाउने निर्णय गरेको छ । 

    बहुउद्देश्यीय प्रकृतिको सो आयोजनाको डिपीआर तयारीको क्रममा नै लामो समय बितेको छ । डिपीआरका अधिकांश विषयमा सहमति भएको बताए पनि पानीको बाँडफाटको विषयमा दुई देशबीच कुरा मिल्न सकेको छैन । 

    प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ चैतमा गर्नुभएको भारत भ्रमणका क्रममा पनि सो आयोजना अगाडि बढाउन सहमति भएको थियो । महाकाली सन्धि भएको अढाइ दशकसम्म पनि आयोजनाको प्राविधिक विषयमा टुङ्गो लाग्न नसक्दा समस्या उत्पन्न हुँदै आएको छ । पछिल्लो पटक नेपाल र भारतका जलस्रोत सचिवस्तरीय संयन्त्र संयुक्त जलस्रोत समितिको नवौंँ बैठकले आयोजनाको डिपीआरलाई अन्तिम रुप प्रदान गर्न गठित विज्ञ समूहको कार्य अवधि थप गरी चौथो बैठक आगामी तीन महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । सो निर्णयले आयोजनाले केही मात्रामा भए पनि गति लिने महसुस गरिएको छ । दुवै देशलाई मान्य हुने गरी आयोजनाको डिपिआर तयार हुने बताइँदै आएको भए पनि थप प्रगति हुन सकेको छैन । 

    यस्तै आयोजनाका लागि गठन भएको पञ्चेश्वर प्राधिकरणमा दुवै पक्षबाट पूर्णकालीन रुपमा काम गर्न तीन महिनाभित्र सबै कार्यकारी समितिका पदाधिकारी दुवै देशबाट पठाउने निर्णय भएको ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिनुभयो । 

    प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच सो आयोजनामा बाँकी रहेका काम अगाडि बढाउन सहमति भएको थियो । सोही सहमति अनुसार संयुक्त जलस्रोत समितिको नवौँ बैठकले आवश्यक निर्णय गरेको छ । आयोजनाको डिपीआरका सन्दर्भमा नेपाल र भारतबीच पानी बाँडफाँटको विषयमा कुरा मिल्न नसक्दा थप प्रक्रियाले गति लिन नसकेको हो । 

    सो आयोजनालाई दुवै देशले ‘गेम चेञ्जर’ परियोजनाको सङ्ज्ञा दिँदै अगाडि बढाउने प्रतिबद्धता जनाएको छ । विसं २०७७ पुसमा भारत भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलले चाँदनी र दोधारामा पानी उपलब्ध गराउने विषयमा सहमति गरेको थियो । तर, यस पटकको बैठकमा त्यस विषयमा खासै चर्चा नभएको बताइन्छ । पछिल्ला दुई वर्ष कोरोना कहरका कारण दुई देशका उच्च अधिकारीबीच छलफल हुन नसक्दा आयोजनाको डिपीआरलगायत अन्य विषयमा छलफल हुन पाएको थिएन । 
    
    महाकाली सन्धिअनुसार नै माथिल्लो तटीय क्षेत्रको जनजीवनका लागि छाड्नुपर्ने पाँच प्रतिशत पानीका विषयमा यसअघि नै दुई देशबीचमा सहमति भएको छ । 

    माथिल्लो तटमा बस्ती पनि नभएकाले त्यत्रो ठूलो परिमाणमा पानी छाड्नुपर्ने नभएकाले त्यसलाई एक प्रतिशतमा सीमित गरी बाँकी पानी भने ऊर्जा उत्पादनमा नै प्रयोग गर्ने गरी सहमति यसअघि जुटाइएको थियो । त्यसैगरी नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुने भनिएको पञ्चेश्वर जलविद्युत् आयोजनाको ऊर्जातर्फको कूल लगानीमध्ये ५० प्रतिशत हिस्सा नेपालले व्यहोर्ने विषयमा समेत मतैक्यता भइसकेको थियो । 

    यस्तै, तल्लो शारदामा उपलब्ध हुने पानीको विषयमा समेत कुरा मिल्न सकेको छैन । नेपालले तल्लो शारदामा उपलब्ध हुने पानीको विषयमा भारतको स्पष्ट जवाफको प्रतिक्षा गर्दै आएको छ । महाकाली सन्धिअन्तर्गत पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माण गरी दुवै देशले लाभ लिने लक्ष्य राखिएको थियो । सो आयोजनाबाट कूल छ हजार चार सय ८० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update