Public Pana
३३ जनाविरुद्ध मुद्दा चलाउनु पर्ने प्रहरीको राय, झण्डै २८ करोड बिगो

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको छ ।
प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेकाहरूलाई संगठित ठगी र राज्यविरुद्धको कसूर मुद्दा चलाउन राय दिएको बताइएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार मुद्दामा प्रहरीले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय, काठमाडौंलाई बुझाएको हो ।
मुद्दा चलाउन राय दिइएका ३३ जनामध्ये ३० जनाको नामथर र ठेगाना खुलेको छ भने एक जनाको नाम खुलेको छ । अरु दुई जनाको भने नामथर र ठेगानासमेत खुलेको  छैन ।
अभियुक्तहरुबाट २७ करोड ८४ लाख ५० हजार ५०० रुपैयाँ विगो माग दाबी गर्न राय दिइएको प्रहरीको भनाइ छ ।

सरकारी वकिलको कार्यालयले प्रहरीको राय अनुसार अव अदालतमा मुद्धा दर्ता गर्नेछ ।

पक्राउ परेका आरोपितहरुमाथी थुनछेक बहस हुनेछ ।अहिलेसम्म न्यायिक हिरासतमा रहेका अभियुक्तहरु अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा जाने वा रिहा हुने भन्ने निक्यौल अदालतको आदेशबाट मात्र हुनेछ । 


 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update