Public Pana
‘वयस्क व्यक्तिले पर्दामा मात्र होइन, वास्तविकतामा पनि नायकीपन प्रस्तुत गर्नुपर्छ’

अभिनेता पल शाहको मुद्दामा जिल्ला अदालत नवलपुरले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। भदौ २१ गते जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो।

पल शाहविरुद्ध एक नाबालिगको जाहेरीपछि गत चैत ३ गते जिल्ला अदालतमा जबरजस्ती करणको मुद्दा दर्ता भएको थियो। नाबालिकामाथि बलात्कारको मुद्दामा पललाई नवलपुर अदालतले सफाइ दिइसकेको छ भने बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय सुनाएको छ।

यस्तै पीडित नाबालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश पनि दिएको छ।

‘आफू स्टार हुँ’ भन्ने एउटा वयस्क व्यक्तिले पर्दामा मात्र नभइ वास्तविक दुनियाँमा पनि नायकीपन प्रस्तुत गर्नुपर्ने फैसलाको पूर्णपाठमा उल्लेख छ।

अदालतको फैसलामा भनिएको छ, ‘करणीको कसुरका प्रत्यक्षदर्शी भनेका नै पीडक र पीडित नै हुन्। त्यसकारण जबरजस्ती करणीको कसुरको प्रत्यक्ष प्रमाण भनेको पीडित स्वयम् नै रहने र भौतिक सबुदको प्रमाणको रुपमा निजको मौकाको स्वास्थ्य जाँच प्रतिवेदन नै मुख्य रुपमा रहने हुन्छ।’

अदालतले मिसिल बाहिर गएर अनुमानको आधारमा प्रमाण नभए पनि यसो हुन सक्ला भनी निर्णय गर्न नमिल्ने फैसलामा उल्लेख छ।

फैसलाको पूर्णपाठमा भनिएको छ, ‘मिसिल संलग्नमाथि उल्लिखित आधार र प्रमाणहरुबाट प्रतिवादीले करणीको कसुर गरेको भनि अनुमान गर्न मिल्ने अवस्था देखिँदैन। अदालतले सडकमा उठाइएको आवाज एवं प्रदर्शन र मिडियामा भएको ट्रायललाई हेरेर निर्णयमा पुग्ने होइन। अदालतमा पेश भएका कुनै पनि विवादको निर्णयमा पुग्नको लागि मिसिलमा पेश भएका तथ्य र प्रमाण नै निर्णयको लागि आवश्यक हुन्छ। अझ फौजदारी विवादको हकमा प्रतिवादीमाथि लगाइएको आरोप वादी पक्षबाट शंकारहित तवरबाट पुष्टि गरिएको हुनुपर्छ।’

शाहले भने आफूमाथि लागेको आरोप झुटो रहेको बयानका क्रममा बताएका थिए। साथै उनले पीडित भनिएकी किशोरी र आफूबीच प्रेम सम्बन्धसमेत नरहेको बयानका क्रममा बताएको पूर्णपाठमा उल्लेख छ।

यस्तै जिल्ला अदालत तनहुँमा पनि तिनै नाबालिगका तर्फबाट मुद्दा दायर भएको छ। तनहुँमा असोज २६ गतेका लागि पेशी तोकिएको छ।

दसैं लागेका कारण आइतबारदेखि अदालतमा नियमित मुद्दाको सुनुवाइ नहुने भएकाले पेश पछि सरेको हो।

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update