Public Pana
मन्त्रालयलाई पत्तै नदिई नियम विपरीत निजीलाई सवारी लाइसेन्स परीक्षाको अनुमति

सवारी चालक अनुमतिपत्रको परीक्षा, वितरण, नवीकरणलगायतका कार्य गर्दै आएको यातायात व्यवस्था कार्यालय भक्तपुरले प्रदेश मन्त्रालयलाई पत्तै नदिई निजी क्षेत्रलाई परीक्षाको अनुमति दिएको छ ।

कार्यालयले आजदेखि लागू हुने गरी मध्यपुरथिमि राधेराधेस्थित बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल प्रालीलाई सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको अनुमति दिएर परीक्षा सञ्चालन गरेको हो ।

यस्तो व्यवस्था गर्दा सम्बन्धित मन्त्रालयसँग छलफल एवं अनुमति लिएर नियमसङ्गत रूपमा कार्य गर्नुपर्नेमा कार्यालय प्रमुखले नियम विपरीत निजी क्षेत्रलाई परीक्षा सञ्चालन गर्ने अनुमति दिएर अनियमितता गरेको आरोप लागेको छ । बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई समेत कुनै जानकारी नै नदिई परीक्षाको अनुमति निजी क्षेत्रलाई दिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका सचिव अस्मान तामाङले लिखित परीक्षा निजी क्षेत्रलाई दिएका बारेमा आफूलाई कुनै जानकारी नै नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसो गरिएको हो भने त्यो अनियमितता हो, त्यहाँका कार्यालय प्रमुखले बदमासी काम गरेका छन्, आफ्नो परीक्षा कार्यालय हुँदाहुँदै निजी क्षेत्रलाई दिनु बदमासी नै हो ।” मन्त्रालयका सचिव तामाङले आफ्नो कार्यालयमा परीक्षा सञ्चालन गर्दागर्दै निजी क्षेत्रलाई परीक्षा सञ्चालन गर्न दिने कुनै कार्यविधि नबनाएको समेत बताउनुभयो ।

कार्यालय प्रमुख शिवकुमार निरौलाले भने कार्यविधिबमोजिम निजी क्षेत्रलाई दिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “२०७८ भन्ने एउटा कार्यविधि छ, सवारी चालक परीक्षा, प्रयोगात्मक परीक्षा स्थल छनोट कार्यविधि, त्यहीअनुसार दिएका हौँ, प्रयोगात्मक परीक्षा सञ्चालन गर्नेले निःशुल्क परीक्षा हल उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ, त्यहीबमोजिम दिएका हाँै ।” कार्यविधिअनुसार नै दिने हो भने पनि हाल प्रयोगात्मक परीक्षा सञ्चालन भइरहेको इजिवे ट्रायल सेन्टरलाई दिनुपर्ने हो, तर त्यसो नगरी अनियमितता गर्दै कार्यालय प्रमुखले दाबी गरेकै कार्यविधि विपरीत परीक्षा सञ्चालनको अनुमति मनोमानी ढङ्गले दिएको कार्यालयका एक कर्मचारीले बताए ।

ती कर्मचारीका अनुसार कार्यालयका अन्य कर्मचारीलाई समेत पत्तो नदिई चलखेल गर्दै हिमालय टाइम्स पत्रिकामा सूचना प्रकाशित गरेर कार्यविधि विपरीत निजी क्षेत्रलाई परीक्षा सञ्चालनको अनुमति दिइएको हो । कार्यालयले बस र मिनीबसको प्रयोगात्मक परीक्षाको अनुमित पनि बुढाथोकी मोटर ड्राइभिङ सेन्टरलाई दिएको छ ।

भक्तपुरमा अब बस र मिनीबसको समेत सवारी चालक अनुमतिपत्र लिनका लागि प्रयोगात्मक परीक्षा सञ्चालन बुढाथोकी मोटर ड्राइभिङ सेन्टरमा गर्ने गरी सम्झौता गरेको छ ।

कार्यालय प्रमुख निरौलाले भन्नुभयो, “बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल प्रालिलाई बस र मिनीबसको प्रयोगात्मक परीक्षा सञ्चालन गर्न सम्झौता गरिसक्यौँ, मन्त्रालयले कोटा खुलाएपछि सुरु हुन्छ, कार्यविधिमा प्रयोगात्मक परीक्षा जहाँ सञ्चालन हुन्छ, त्यहीँ निःशुल्क परीक्षा हलको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ, त्यहीअनुसार दिइएको हो ।” कार्यालय प्रमुखले दाबी गरेअनुसार २०७८ को कार्यविधि भने पनि कार्यालयले हालसम्म यो कार्यविधिलाई टेकेर यसखालको निर्णय नभई आफ्नै कार्यालयमा परीक्षा हलको व्यवस्था गर्दै परीक्षा सञ्चालन गर्दै आएको थियो ।

कार्यविधिलाई नै मान्ने हो भने पनि उक्त प्रालिलाई बस र मिनीबसको लिखित परीक्षाको मात्रै अनुमति दिनुपर्ने हो तर अनियमितता गर्दै सबैको लिखित परीक्षा एकै ठाउँमा गर्ने सम्झौता गरेको कर्मचारीकै भनाइ छ ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update