Public Pana
वर्षा बाधक बनेको खेलमा भारतसँग अस्ट्रेलिया ६ विकेटले पराजित

कप्तान रोहित शर्माको आक्रामक ब्याटिङमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको छ।

अष्ट्रेलियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको घरेलु टोली भारतले ७.२ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो। भारतको जितमा कप्तान रोहित शर्माले २० बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रनमा अविजित रहे। विराट कोहलीले ११ रन बनाउँदा केएल राहुल र दीनेश कार्तिकले समान १०-१० रन बनाए।

भारतलाई अन्तिम १२ बलमा २३ रन आवश्यक थियो। सातौं ओभरमा भारतले १३ रन जोड्यो। 

भारतलाई अन्तिम ६ बलमा ९ रन चाहिएको थियो। दीनेश कार्तिकले पहिलो बलमा ड्यानियल साम्सलाई छक्का प्रहार गर्दै जित नजिक पुर्‍याए। दोस्रो बलमा कार्तिकले विजयी चौका प्रहार गरे। २ बलमा १० रन बनाएका उनैले भारतलाई सहज जित दिलाए। 

अष्ट्रेलियाका लागि एडम जाम्पाले सर्वाधिक ३ विकेट लिँदा प्याट कमिन्सले एक विकेट हात पारे।

त्यसअघि नागपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ८ ओभरमा ५ विकेट गुमाउँदै ९० रन बनायो। 
वर्षाको प्रभावले खेल ढिलो सुरू हुँदा ८-८ ओभरको घटाइएको थियो।

 

अष्ट्रेलियाका विकेटकिपर म्याथु वेड २० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४३ रनमा अविजित रहे। १५ बलको सामना गरेका कप्तान आरोन फिन्चले ४ चौका र १ छक्कासहित ३१ रन जोडे।

स्टेभेन स्मिथले ८, ओपनर क्यामरन ग्रीनले ५ तथा टिम डेभिडले २ रन जोड्दा ग्लेन म्याक्सवेललाई शून्यमा बोल्ड भए।
भारतका लागि अक्षर पटेलले २ तथा जसप्रित बुमराहले १ विकेट लिए।

यो जितसँगै भारतले ३ खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरीमा ल्याएको छ। पहिलो खेलमा अष्ट्रेलिया ४ विकेटले विजयी भएको थियो। 

अब तेस्रो तथा निर्णायक खेल आइतबार राजिव गान्धी स्टेडियम हैदराबादमा हुनेछ।

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update