Public Pana
इंग्ल्याण्डसँग पाकिस्तान ६३ रनले पराजित

इंग्ल्यान्डले पाकिस्तानमाथि ६३ रनको सानदार जित निकालेको छ।

तेस्रो टी -२० अन्तर्राष्ट्रियमा जितको लागि २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रन बनायो।

पाकिस्तानका शान मसुदले ४० बल खेल्दै ३ चौका र ४ छक्कासहित सर्वाधिक ६६ रनमा अविजित रहे पनि टोलीलाई फराकिलो हारबाट जोगाउन सकेनन्। पाकिस्तानका मसुदबाहेक अन्य ब्याटरको प्रदर्शन सम्झन लायक रहेन।

अघिल्लो खेलमा सानदार सतक बनाएका ओपनर तथा कप्तान बाबर आजम ८ रनमा आउट भए। यस्तै मोहम्मद रिजवान पनि समान ८ रन जोड्दै पवेलियन फर्किए। हैदर अलीले ३ रन जोड्दा ४ ओभरमा २१ जोडेको पाकिस्तानले ३ विकेट गुमाइसकेको थियो।

पाँचौ ओभरमा २८ रन जोड्दा पाकिस्तानले चौथो विकेट गुमायो। तर मसुद र खुसदिल साहले ३८ बलमा ६२ रनको साझेदारी गर्दै खेलमा फर्कने संकेत देखाए।

खुशदील शाहले २१ बलमा १ चौका र २ छक्कासहित २९ रन बनाएर आउट भए। त्यसपछि मसुदले मोहम्मद नवाजसँग ३८ बलमा ५२ रनको साझेदारी गरे। २१ बल खेलेका नवाज १९ रनमा आउट भएपछि पाकिस्तानको जित टाढिएको थियो।

इंग्ल्यान्डका मार्कवुडले सर्वाधिक ३ विकेट लिए। आदिल राशिदले २ तथा साम करन र रिस टोप्लीले एक-एक विकेट लिए ।

त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २१ रन बनाएको थियो।

उसका लागि युवा ब्याटर ह्यारी ब्रुकले ३५ बलमा ८ चौका र ५ छक्कासहित सर्वाधिक ८१ रनको बिस्फोटक इनिङ्स खेले। पहिलो अन्तर्राष्ट्रिय टी-२० अर्धसतक बनाउने क्रममा ह्यारी ब्रुकले २४ बलमै पुरा गरेका थिए।

त्यस्तै बेन डकेट ४२ बलमा ८ चौका र १ छक्कासहित ७० रनमा अविजित रहे। चौथो विकेटका लागि ब्रुक र डकेटले ६९ बलमा १ सय ३९ सानदार शतकीय अविजित साझेदारी गरेका थिए।

डेब्यू खेल खेलेका ओपनर विल ज्याक्सले २२ बलमा ८ चौकासहित ४० रन बनाउँदा अर्का ओपनर फिलिप साल्ट ८ रनमा आउट भए। डेविड मलानले १४ रन जोडे।

पाकिस्तानका लागि उस्मान कादिरले २ तथा मोहम्मद हासनैनले १ विकेट लिए।

यो जितसँगै सात टी-२० अन्तर्राष्ट्रिय खेलको सिरिजमा इंग्ल्यान्डले २–१ को अग्रता लिएको छ। पहिलो खेलमा इंग्ल्यान्ड ६ विकेट र दोस्रो खेलमा पाकिस्तान १० विकेटले विजयी भएका थिए। चौथो खेल आइतबार कराँचीमा हुनेछ।

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update