Public Pana
आफ्नो नामको नक्कली अडियोको सत्यतथ्य चाडै सार्वजनिक गर्न आरजु राणाको माग

नेपाली कांग्रेसकी केन्द्रिय सदस्य आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफनो नाम मुछिएर आएको अडियोका बारेमा तत्काल सार्वजनिक गर्न अनुरोध गरेकी छिन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेतृ राणाले दुई करोड रुपैयाँ लिएको भन्दै आएको अडियोका बारेमा ६ दिनसम्म पनि सत्य तथ्य सार्वजनिक नगरेको भन्दै उनले आपत्तिसमेत जनाएकी छिन् ।

‘मेरो नाममा आएको फेक अडियोका बारेमा उजुरी दर्ता गराएको छु, त्यो दर्ता गराउन पनि प्रहरीले मानिरहेको थिएन, हुन त म जतिको मान्छे गए पछि फेक अडियोका बारेमा उजुरी दर्ता सहजै हुन्छ भन्ने लागेको होला, मलाई पनि त्यो उजुरी दर्ता गराउन तीन घन्टा लागेको थियो,’ उनले जारी प्रतिनिधिसभाको बैठकमा भनिन्, ‘तर, आज ६ दिन नाघिसक्दा पनि प्रहरीले त्यसको यथार्थ सार्वजनिक गरेको छैन, यो दुःखद कुरा हो । म त्यो अडियोका बारेमा तत्कालै सत्यतथ्य सार्वजनिक होस भन्ने चाहान्छु ।’ 

उनले मिडियाका कारण राजनीतिमा लागेका महिलाहरुलाई आत्महत्या गर्नका लागि प्रेरित गरिरहेको पनि जनाएकी छिन् । ‘तर, म बलियो भएर होला, मलाई त्यो परेको छैन, यहाँ उपस्थित हुन सकेको छु तर मिडियाले महिलाहरुलाई आत्महत्या गर्नका लागि फोर्स गरिरहेको छ’ उनले भनिन् ।   

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update