Public Pana
जब शहरी विकास सचिवलाई मन्त्रीका पिएले अपशब्द बोल्दै हातपात गर्न थाले...

निर्वाचन प्रक्रिया शुरू भइसकेकाले यतिबेला सरकार कामचलाउ भएको छ। मन्त्री पनि ‘म्यादी’ भइसकेका छन्।

तर बिदा हुन लागेका ‘म्यादी’ मन्त्रीका पिएले बहालवाला आफ्नै मन्त्रालयका सचिवमाथि हातपात गर्न तम्सिनु चानचुने कुरा होइन। घटना हो, शहरी विकास मन्त्रालयको। शहरी विकास क्षेत्र बुझेको र त्यसमै विद्यावारिधि गरेका सचिव डा. रमेश प्रसाद सिंहलाई उनकै विभागीय मन्त्रीका पिएले मन्त्रालयमै अपशव्द बोल्दै हातपातको प्रयास गरेका छन्।

शहरी विकास मन्त्री मेटमणि चौधरीका स्वकीय सचिव भू–माण्डप केसीले आफूले भनेअनुसार काम नगरेको भन्दै शहरी सचिव रमेश प्रसाद सिंहलाई दुर्व्यवहार गरेपछि यतिबेला शहरी विकास मन्त्रालय र मातहतका निकायमा सोझा मन्त्रीका पिए डरलाग्दा रैछन भन्ने हल्ला चलेको छ।

कर्मचारी भर्ना तथा आफूले भनेकालाई कन्सल्टेन्सी लगायतका काम नदिएको भन्दै शुक्रबार अपरान्ह ३ बजेतिर केसीले सचिवमाथि हातपात गरेका हुन्।

सचिवको कार्यकक्ष बाहिर बसिरहेका प्रत्यक्षदर्शीका अनुसार सचिव सिंह आफ्नो कार्यकक्षबाट निस्कनै लाग्दा आक्रोशित मुद्रामा आएका केसीले ‘तँ … भ्रष्टाचारी हाम्रो काम नगर्ने?’ भन्दै सचिवलाई समातेर जर्वजस्ती कोठा भित्र घचट्दै हातपातको प्रयास गरेपछि सचिव कार्यकक्षबाहिर बसेका अन्य कर्मचारीले आत्तिदै अन्य कर्मचारीलाई खबर गरेपछि मन्त्रीका पिए सचिवलाई अपशब्द बोल्दै निस्किएका थिए।

प्रत्यक्षदर्शीका अनुसार मन्त्रीका पिएले अपशव्दमा प्रयोग गरिने अधिकांश गालीगलौज सचिवमाथि गरेको सुन्दा नजिकै भएका महिला कर्मचारी जिब्रो टोक्दै त्यो ठाँउबाट निस्किएका थिए।

सचिवमाथिको दुर्व्यवहारप्रति कतिपय कर्मचारीले आपत्ति जनाउँदै मन्त्रीका पिएलाई कारवाही गर्नुपर्ने आवाज उठाए पनि मन्त्रालयभित्रको कुरा बाहिर जादा नकारात्मक सन्देश जाने भन्दै मन्त्री र सचिवबीच घटनालाई बाहिर नल्याउने सहमति बनेको मन्त्रालय स्रोतले पब्लिक पानालाई जानकारी दियो।

यसअघि मन्त्री स्वंमले रिसको झोकमा कर्मचारीलाई ट्वाइलेटमा थुन्नेदेखि हातपात गर्ने काम गरे पनि मन्त्रीका पिएले सचिवमाथि हातपात गर्दै आतंक मच्चाएको घटना पहिलो भएको एक पूर्वप्रशासकले बताए ।

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update