Public Pana
समानुपातिक बन्दसूची बुझाउने समय आज सकिँदै

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले आज समानुपातिक निर्वाचनतर्फको बन्दसूची पेश गरिसक्नु पर्नेछ।

निर्वाचन आयोगले असोज २ गते आइतबार र ३ गते सोमबार गरी दुई दिनभित्र बन्दसूची बुझाउन समय तोकेको थियो। हिजो थोरै दलले मात्र बन्द सूची बुझाएको आयोगमा आज अधिकांश दलले बुझाउनेछन्।

समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार प्रतिनिधि सभा सदस्यतर्फ दुई वटा दलले मात्रै बन्दसूची पेस गरेका छन्। 

समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार प्रतिनिधि सभातर्फ दुई र तीन वटा प्रदेशका लागि एक/एक राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेस गरेका थिए।

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दलहरूबाट निवेदन आह्वान गर्दा प्रतिनिधि सभाका लागि ७६ वटा दलबाट ६८ निवेदन परेको थियो। प्रदेशगत रूपमा सबैभन्दा बढी मधेश प्रदेशमा ६६ वटा दलबाट ५८ वटा निवेदन परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

छलफललाई तीव्रता दिए पनि सोमबार मात्रै प्रमुख राजनीतिक दलले बन्दसूचीका उम्मेदवार टुङ्ग्याएर निर्वाचन आयोग पुग्नेछन्।
 

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update