Public Pana
गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा उहाँले माग्नुभएको विश्वासको मतको प्रस्तावका पक्षमा ३५ मत प्राप्त भएको हो ।

उहाँलाई नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र नेकपा (एकीकृत समाजवादी)को एक गरी ३५ मत प्राप्त भएको छ । प्रस्तावका विपक्षमा नेकपा (एमाले)का २२ प्रदेशसभा सदस्यको मत परेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना प्रदेशसभा सदस्य तटस्थ बस्नुभएको छ ।

प्रदेशको मुख्यमन्त्रीमा यही वैशाख १४ गते नियुक्त हुनुभएका पाण्डेले १५ गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । विश्वासको मत पाएसँगै पत्रकारसँगको भेटघाटमा मुख्यमन्त्री पाण्डेले अब सरकारका काम तीव्ररूपमा अघि बढ्ने बताउनुभयो ।

मन्त्रिपरिषद्लाई चाँडै नै पूर्णता दिने बताउँदै उहाँले यस सम्बन्धमा गठबन्धनका दलबीच छलफल भइरहेको जानकारी दिनुभयो । सरकारका तर्फबाट आगामी नीति तथा कार्यक्रमको गृहकार्य भइरहेको उहाँको भनाइ थियो ।

पत्रकारको अर्को जिज्ञासामा उहाँले पछिल्ला समयमा अल्पमतको कामचलाउ सरकार भइसकेपछि केही योजनालाई बढाएको पाइएको बताउनुभयो । ती योजना आवश्यकताका आधारमा या राजनीतिक आग्रहका आधारमा बढाइएको सम्बन्धमा पुनःविचार गरिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update