Public Pana
सबैभन्दा ठुलो उत्तरी सीमा तातोपानी नाकाबाट  आठ वर्षपछि निर्यात खुल्ला

नेपाल–चीनबीचको सबैभन्दा ठुलो उत्तरी सीमा तातोपानी नाकाबाट आठ वर्षपछि चीनतर्फ निर्यात खुलेको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले दुवै देशबाट आयात–निर्यात खुल्दै नाका सञ्चालनमा आएको जानकारी दिए । दुवै देशमा मालवाहक कन्टेनर आउजाउ हुन थालेका छन् ।

चीन र नेपालका सुरक्षा निकायको उपस्थितिमा दुवै देशबाट आयात–निर्यात खुलेको छ । सोमवार मितेरी पुलबाट तीनवटा कन्टेनरबाट चीनतर्फ मुडा, जुट, म्याट्रिक्स र हस्तकलाकाका सामाग्री पठाएर निर्यात खुलाइएको प्रजिअ न्यौपानेले जानकारी दिए । उक्त तीन कन्टेनर अहिले मितेरी पुल काटेर चिनियाँ भू–भागको झाङ पोर्ट, पार्किङ पुन निमार्ण भइरहेको बजार इलाका भेगमा पुगेको छ । 

२०७२ वैशाख १२ गतेको भूकम्पको चार वर्षपछि उक्त नाका २०७६ जेठ १५ देखि आंशिक रूपमा सञ्चालनमा आएको थियो । भूकम्पअघि उक्त नाकाबाट हस्तकलाका सामाग्री, वनस्पति, जडीबुटी, चाउचाउ लगायतका १८२ प्रकारका सामाग्री निर्यात हुँदै आएको थियो । 

तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका लागि गत फागुन ४ गते, चैत ६ गते नेपालबाट जिल्ला प्रशासन कार्यालय, अध्यागमन कार्यालय, जिल्लाका सुरक्षा निकाय, तातोपानी भन्सार कार्यालय र चीनको न्यायालय काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन लगायतका अधिकारी बिच सीमा क्षेत्रमा बैठक भएको थियो । उक्त बैठकमा नाकाबाट हुने अवाञ्छित गतिविधि, आपराधिक गतिविधि लगायतका समस्या हटाउने विषयमा छलफल भएको थियो । 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update