Public Pana
ओलीले देउवालाई भने– तपाईं प्रतिगमन गर्दै हुनुहुन्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई तपाईं प्रतिगमन गर्दै हुनुहुन्छ भनेर व्यंग्य गरेका छन् । उनले शनिबार संसदको अन्तिम दिन आफ्नो मन्तव्य राख्दै देउवालाई व्यंग्य गरेका हुन् । 

‘सम्माननीय प्रधानमन्त्री ज्यूले संसद पुनर्स्थापना भएकाले आज सबै भेट्न पाएका छौँ भन्नुभयो,’ उनले भने, ‘फेरि चुनाव त घोषणा गर्नु भएको छ । आजबाट संसद अन्त्य हुँदैछ भनेपछि तपाईँ प्रतिगमन गर्दै हुनुहुन्छ । यसको अर्थ त्यही हो ? होइन भने गतवर्ष वैशाखमा चुनाव भइसक्थ्यो ।’

ओलीले आफूले संसद विघटन गरेर चुनाव घोषणा गर्दा कुनै प्रणालीमा असर गर्ने थिएन भन्दै दाबी प्रस्तुत गरे । ‘त्यसबेला कुनै प्रणाली जान लागेको त थिएन,’ उनले थपे, ‘संविधान जान लागेको त थिएन । प्रतिनिधि सभाको निर्वाचन गत वर्ष वैशाख १७ र २७ गते हुन्थ्यो । र नयाँ संसद आउँथ्यो । प्रतिगमन कहाँबाट हुन्थ्यो ? यो उही प्रतिपक्षी दलको नेताले पहिले बोल्न पाउनुपर्छ भनेर वेल घेरे जस्तै कुरा हो । यस्ता कुराहरू गर्नु वाञ्छनीय हुँदैन ।’

उनले कुनै पनि संसद पाँचै वर्ष चल्नुपर्छ भन्ने संविधानमा भएको समेत दावी गरे । ‘हाम्रो संविधानको धारा ७६ ले कसैको बहुमत आयो भने आउँछ,’ उनले भने, ‘सरकार गठन हुन्छ । भएन भने ७६ को २ अनुसार अनेक दल मिलेर सरकार गठन हुन्छ । त्यो भएन भने त्यसले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । लिन सकेन भने फेरि ६ महिना भित्र त चुनाव गर्नु पर्‍यो । संविधानले त्यो व्यवस्था गरेको छैन ? पाँचै वर्षको भन्ने कहाँ छ ?’

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update