Public Pana
यस वर्ष दशै टिकाको शुभ साइत  बिहान ११ः५१ बजे उत्तम

यस वर्ष दशै टिकाको शुभ साइत  असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ।

विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।

देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ।

शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ।
असोज १० गते बिहान १०ः२३ बजे घटस्थापनाको शुभ साइत यस वर्ष असोज १० गते सोमबारदेखि नवरात्रारम्भ हुँदैछ। नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ। घटस्थापनाका लागि बिहान १०ः२३ बजेको साइत शुभ रहेको छ।

असोज ११ गते झण्डा फेर्ने साइत ११ः११ बजे उत्तम रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताए।
असोज १४ गते शुक्रबार पचलीभैरव यात्रा हुने भएको छ। असोज १६ गते आइतबार फूलपाती पर्व परेको छ। यसै दिन बिहान १०ः०५ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ।

तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११ः३५ बजेको छ।
असोज १७ गते सोमबार महाअष्टमी पर्व परेको छ। राति भने कालरात्रि पर्व मनाइन्छ। असोज १८ गते मंगलबार महानवमी पर्व परेको छ। असोज १९ गते बुधबार विजयादशमी पर्व परेको छ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update