दार्चुलामा भदौ २४ गते राति बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ । घटना भएको आठ दिन बित्दा पनि बेपत्ता भएकाहरु नभेटिएपनि सवै जनाको जिवितै उद्दार हुने सम्भावन न्युन रहेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले बेपत्ता भएकाहरुको खोजीकार्य जारी नै राखेको भए पनि भेटिने आशा मरिसकेको बताएका छन् । शुक्रबार रातिको अविरल वर्षाका कारण गएको पहिरोमा परि पाँच जनाको मृत्यु भएको थियो भने १० जना बेपत्ता छन् । पहिरोमा परि आठ जना घाइते भएका छन्।
बाढीले दुई वटा विद्यालय भवन, डुङरी मन्दिर र विद्युतको पावरहाउस, लास्कु खोलाको एउटा मोटरेबल पुल, विभिन्न स्थानमा गरी चार वटा झोलुङ्गे पुल, बंगाबगरमा पार्किङमा राखेका नौ वटा सवारीसाधन बगाएको थियो । दार्चुलामा हालसम्म १७० घरमा क्षति भएको प्रहरीको तथ्याङ्क छ ।
६६ घर पूर्णरुपमा ध्वस्त भएका छन् । ९७ घर जोखिममा छन् । अन्य ७ वटा घर आंशिक जोखिममा रहेको प्रहरीले जनाएको छ । पहिरोमा बेपत्ता भएकाहरुको खोजीकार्यमा प्रशासनले प्रभावकारी कदम चाल्न नसकेको तथा प्रभावितलाई राहत बितरणमा सरकारी उदासिनता देखिएको पिडितहरुले गुनासो गरेका छन् ।