Public Pana
पानीमा भिज्दै मन्त्री राईले गरे बाँकेमा पुल र रक्तसंचार केन्द्र भवनको शिलन्यास

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले बिहीबार बाँकेमा एक पक्की पुल र रक्तसञ्चार केन्द्र भवन निर्माणको शिलान्यास गरेका छन् । 

वर्षा नरोकिएपछि पानीमा भिज्दै उनले बाँकेको डुडुवा ३ मा बनकट्टीलाई रामपुरवासँग जोड्ने डुडुवा नदीमा निर्माण गरिने पक्की पुल र नेपालगञ्जस्थित भेरी अस्पतालको प्रांगणमा निर्माण गरिने रक्तसञ्चार केन्द्रको भवनको शिलान्यास गरेका हुन ।

 भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आयोजनामा गरेको दुबै ठाउँको संक्षिप्त शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री राईले विकास निर्माणलाई वर्षा र मौसमले रोक्न नसक्ने बताए। 

सानो समयमा धेरै विकास गर्ने लक्ष्यका साथ आफू सो मन्त्रालयमा पुगेको जनाउँदै रातदिन खटिएर विकास निर्माणका योजना बनाइरहेको र कार्यान्वयनमा लगिरहेको राईले बताए। 

पक्की पुल निर्माणको शिलान्यास कार्यक्रममा सो क्षेत्रका जनप्रतिनिधिसँगै स्थानीयको पनि सहभागिता रहेको थियो भने रक्तसञ्चार केन्द्र भवनको शिलान्यास समारोहमा भेरी अस्पतालका प्रमुख डा. बद्री चापागार्इं, रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धनसिंह सम्झना, नेपालगञ्ज उपमहानगरका उपमेयर कमरुद्दीन राई लगायतको सहभागिता रहेको थियो। 

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा लगायतको उपस्थिति थियो।

 

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update