Public Pana
सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई दिन थाल्यो सापटी

योगदानमा आधारित सामाजिक सुरक्षा कोषका योगदानकर्ताले आजबाट सापटी पाउन थालेका छन्। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयमा एक कार्यक्रम गर्दै सापटी योजना सुरू गरेका हुन्।

मन्त्री कुँवरले दुई योगदान कर्तालाई अनलाइनमार्फत विशेष सापटी रकम भुक्तानी गरेर सापटी योजना कार्यान्वयन सुरू गरेका हुन्।

कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले योजना सुरू भएदेखि योगदान गरेका सात सयभन्दा बढी योगदाकर्ता सापटीका लागि योग्य भएको बताए। 

कोषको लगानी कार्यविधिअनुसार योगदानकर्ताले विभिन्न चार किसिमका सापटी सुविधा पाउँछन्। यसका लागि कोषले योगदानकर्ता सापटी निर्देशिका २०७९ पनि जारी गरिसकेको छ।

निर्देशिकामा व्यवस्था भएअनुसार योगदानकर्ताले घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र योगदानकर्ता विशेष सापटी प्राप्त गर्न सक्छन्। 

घर सापटी

कोषका योगदानकर्ताले नयाँ घर निर्माण गर्न, खरिद गर्न अथवा आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न पनि घर सापटी पाउँछन्। त्यस्तै घर मर्मत गर्न र संयुक्त आवासमा युनिट खरिद गर्न पनि सापटी पाइन्छ। 

तर घर सापटी पाउन कम्तीमा ३६ महिना कोषमा योगदान गरेको हुनुपर्नेछ। उमेर वा सेवाका आधारमा पनि यस्तो सुविधा प्रदान गरिन्छ। अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्तालाई यो सुविधा प्रदान गरिन्छ। 

घर सापटी स्वीकृत गर्दा धितो मूल्यांकनबाट कायम भएको रकममा नबढ्ने गरी योगदानकर्ताको १५ वर्षको तलव, योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी कार्य अवधिको तलव वा ७५ लाख रुपैयाँमध्ये जुन कम हुन्छ सोही रकम प्रदान गरिने कोषले जनाएको छ। 

यस्तो सापटी घर निर्माण गर्दा कम्तीमा दुई किस्ता र अधिकतम चार किस्तामा प्रदान गरिन्छ। पहिलो किस्ता भुक्तानी गर्दा स्वीकृत सापटीको बढीमा २५ प्रतिशत र बाँकी किस्ता भुक्तानी गर्दा मूल्यांकनकर्ताले सिफारिस गरेको प्रगति विवरणका आधारमा कायम गरिने व्यवस्था छ। तर घर खरिद गर्दा भने कोषले एकमुष्ठ रकम उपलब्ध गराउँछ। 

योगदानकर्ताले अनिवार्य अवकाश हुने अवधि ननाघ्ने गरी घर सापटीको पहिलो किस्ता लिएको बढीमा २० वर्षभित्र सापटी चुक्ता गर्नुपर्नेछ। 

तर योगदानकर्ताले जुनसुकै कारण कोषमा नियमित योगदान गर्न छोडेमा त्यसरी योगदान गर्न छाडेको ६ वर्षभित्र यस्तो सापटी चुक्ता गर्नुपर्नेछ। योगदानकर्ताले लिएको सापटी चुक्ता भएपछि पुनः घर सापटी पनि लिन सक्छन्। 

शैक्षिक सापटी

कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका योगदानकर्ताले यस्तो सापटी पाउँछन्। उमेर वा सेवा अवधिका आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्ता वा निजका पति, पत्नी, छोरा वा छोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययनका लागि शैक्षिक सापटी दिइन्छ।

यस्तो सापटी ३५ लाख रुपैयाँ वा सोभन्दा कम भएमा सम्बन्धित शिक्षण संस्थामा लाग्ने वास्तविक सबै खर्च बराबर प्रदान गरिन्छ। 

शिक्षण संस्थामा लाग्ने वास्तविक खर्च गणना गर्दा भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क, होस्टेल वा आवास खर्च जोडिन्छ।

त्यस्तै, सम्बन्धित शिक्षण संस्थाले तोकेको अन्य शुल्क, सम्बन्धित शिक्षण संस्थाले सिफारिस गरेअनुसार शैक्षिक सामग्री खर्च र ट्राभल तथा बीमा खर्च बराबर रकमका आधारमा गरिन्छ। यस्तो सापटी कोषले योगदानकर्ताको आवश्यकताअनुसार अथवा बढीमा चार किस्तामा प्रदान गर्छ। 

पहिलो किस्ता लिएको बढीमा १५ वर्षभित्र यस्तो सापटी चुक्ता गर्नुपर्छ। तर योगदानकर्ताले जुनसुकै कारणले कोषमा रकम जम्मा गर्न छाडेमा योगदान गर्न छाडेको ६ वर्षभित्र चुक्ता गरिसक्नुपर्छ। 

सामाजिक कार्य सापटी

योगदानकर्ता आफू वा एकाघर सगोलको परिवार सदस्यको सामाजिक कार्य (विवाह/व्रतबन्ध) लगायत कार्यका लागि कोषबाट सापटी प्रदान गरिन्छ। यस्तो सापटी पाँच लाखसम्म प्रदान गरिने व्यवस्था छ। 

योगदानकर्ता विशेष सापटी

कोषमा कम्तिमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवाका अवधिका अधारमा अवकाश हुन कम्तीमा दुई वर्ष सेवा अवधि बाँकी रहेका योगदानकर्तालाई यस्तो सापटी प्रदान गरिन्छ। 

यो सापटी सुविधा अन्तर्गत योगदानकर्ताले निजको अवकाश कोष योजनामा जम्मा भएको रकमको अधिकतम ८० प्रतिशत रुपैयाँसम्म पाउँछन्। 

विशेष सापटी लिएको योगदानकर्ताले चाहेमा एक वर्ष पूरा भएपछि पुनः विशेष सापटी पाउँछन्। तर पहिले लिएको सापटी चुक्ता गनुपर्नेछ। 

विशेष सापटी योगदानकर्ताले मासिक तलवबाट कट्टी गरी वा कोषले तोकेको बैंक खातामा पटक पटक वा एकै पटक जम्मा गरी चुक्ता गर्न सक्छन्। 

सापटीको ब्याजदर कोषको सञ्चालक समितिले निर्धारण गरेअनुसार हुनेछ। यस्तो ब्याजदर समितिले समयअनुसार पुनरावलोकन गर्न सक्ने उल्लेख गरिएको छ। 

वार्षिक ब्याजदर प्रत्येक आर्थिक वर्षको अन्तिमसम्ममा चुक्ता गरिसक्नु पर्छ। चुक्ता नगरे यस्तो ब्याज रकम सापटीको साँवामा समावेश गरी पुँजीकृत गरिने कोषले बताएको छ। 

कोषले विशेष सापटी बाहेक अन्य सापटी प्रवाह गर्दा कुनै चल सम्पति योगदानकर्तालाई प्रदान गरिने सापटी रकमको सुरक्षणका लागि कोषले धितोको रूपमा लिन्छ। 

धितोका रूपमा कोषले योगदानकर्ताका नाममा रहेको घर वा जग्गा लिने उल्लेख छ।

घर सापटीको हकमा योगदानकर्ताले निर्माण वा खरिद गर्ने घर जग्गा नै धितोका रूपमा राख्नुपर्छ। योगदानकर्ताको नाममा रहको घर जग्गाले सापटीका लागि धितो नपुग भएमा कोषले सापटी उपलब्ध गराउँदैन। 

त्यस्तो अवस्थामा योगदानकर्ताको एकाघरका सदस्यको नाममा रहेको घरजग्गा पनि धितो राख्न सकिने व्यवस्था छ।

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update