Public Pana
चिनियाँ सभामुख ली चान्शु आज स्वदेश फर्किँदै, सोल्टीदेखि एयरपोर्टसम्म सवारी आवागमन प्रभावित हुने

चार दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष तथा सभामुख ली चान्शु आज स्वदेश फर्किँदैछन्। सोमबार नेपाल आएका उनी एयर चाइनाको विशेष विमानबाट आज बिहानको फ्लाइटमा चीन फर्किन लागेका हुन्।

सोमबारैदेखि उनी विभिन्न उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय थिए। सभामुख अग्निप्रसाद सापकोटाको निम्तोमा नेपाल आएका चान्शुले यसबीचमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गरेका थिए।

यस्तै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि उनको भेट भएको थियो। बुधबार उनी भक्तपुरको भ्रमणमा निस्किएका थिए।

नेपालमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा चीनबाट उच्चस्तरीय राजनीतिक भ्रमण हुनुलाई चासोका साथ हेरिएको छ।

चान्शुको भ्रमणले सोमबारदेखि काठमाडौंको ट्राफिक पनि अस्तव्यस्त भएको थियो। आज पनि उनी बसेको सोल्टी होटलबाट एयरपोर्टसम्म बिहान सवा ८ बजेदेखि सवारी आवागमन प्रभावित हुनेछ।

ट्राफिक प्रहरीले यो रूटमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update