Public Pana
पार्टी दर्ताको वर्षगाँठ पारेर झाँक्रीको स्पष्टिकरण– पार्टीबाट दायाँबायाँ हुन्नँ, हल्ला गलत हो

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको एक वर्ष पूरा भएको अवसर पार्दै पूर्वमन्त्री तथा पार्टी सचिव रामकुमारी झाँक्रीले आफू पार्टीबाट अलग्गिने भनेर चलेको हल्ला गलत भएको बताएकी छन्। उनले सामाजिक सञ्जालमा लेख्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरेकी हुन्।

'बजारमा केही दिनदेखि हामीहरूका बारेमा केही भ्रामक समाचार/विचार आएको देख्छु। यो कुरा गलत हो। देशैभरीका हाम्रा सहयोद्धा साथिहरू यस्ता कुनै पनि भ्रममा नपर्न र आफ्नो कार्यक्षेत्रमा सक्रिय हुन समेत अनुरोध गर्न चाहान्छु,' उनले भनेकी छिन्। झाँक्रीलगायत एकीकृत समाजवादीका नेताहरु एमालेमै फर्किने तयारी गरिरहेको हल्ला चलिरहेका बेला उनले यसरी स्पष्ट पारेकी हुन्।

गएको वर्ष आफ्नो जिन्दगीकै एउटा कठिन राजनीतिक निर्णय लिएको दिन रहेको उनको भनाइ छ। उनको स्मरण छ, 'मेरा पिता समानका नेता कमरेड माधवकुमार नेपालको हात समातेर निर्वाचन आयोग पुगेको दिन हो। हामीले राजनीतिमा अर्को एउटा मूल्यको राजनीतिको मानक बनाउन चुनौतिपूर्ण अवस्थामा पाइला अगाडि बढाएको दिन हो।'

यस्तो छ उनको भनाइ :
गतवर्ष आजकै दिन मेरो जिन्दगीको एउटा कठिन राजनीतिक निर्णय लिएको दिन हो। मेरा पिता समानका नेता कमरेड माधव कुमार नेपालको हात समातेर निर्वाचन आयोग पुगेको दिन हो। हामीले राजनीतिमा अर्को एउटा मूल्यको राजनितीको मानक बनाउन चुनौतीपूर्ण अवस्थामा पाइला अगाडि बढाएको दिन हो।

चुनौतीपूर्ण अवस्थामा निर्णय लिन सक्षम हुन्छन्। हाम्रो विद्रोह थियो- संविधानलाई बचाउन, सात दशक लामो संघर्षको उपलब्धी रक्षा गर्न, यो राजनीतिक प्रणालीलाई बचाउन र नेपालको राजनीतिलाई जनचाहाना अनुसार सञ्चालन गर्न। 

आज यिनै उपलब्धिको रक्षा गर्न विद्रोहको औचित्य पुष्टि गर्ने समय हो। आसन्न निर्वाचनमा हामी गठबन्धनमै अगाडि बढ्ने हाम्रो संकल्प छ। गठबन्धन आजको आवश्यकता हो।
संविधानलाई गति दिन, सही मार्गमा चलाउन, आर्थिक अजेण्डालाई प्राथमिकतामा राखी आर्थिक विकास र समृद्धिको बाटोमा मुलुकलाई मार्गदर्शन गर्न, जनभावनाको कदर गर्न गठबन्धन अनिवार्य छ। आजको यो सबै कार्यभार पूरा गर्न नेकपा एकीकृत समाजवादी पार्टीलाई पुनर्गठित र पुनर्जागृत गरेर अगाडी बढ्नु आजको आवश्यकता हो। 

बजारमा केही दिनदेखि हामीहरूका बारेमा केही भ्रामक समाचार/विचार आएको देख्छु। यो कुरा गलत हो। देशैभरीका हाम्रा सहयोद्धा साथिहरू यस्ता कुनैपनि भ्रममा नपर्न र आफ्नो कार्यक्षेत्रमा सक्रिय हुन समेत अनुरोध गर्न चाहान्छु। आज हाम्रो पार्टीको दर्ता गरेको दिन हो। यो अवसरमा सबै कमरेडहरू, साथिहरूप्रति हार्दिक शुभकामना!!

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update