Public Pana
वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनेछु : मन्त्री भण्डारी

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने बनाउनुभएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीले सम्मानका साथ विश्व बजारमा श्रम गर्नसक्ने वातावरण सिर्जना गर्ने उहाँको भनाइ छ ।

आज शनिबार ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमको अवलोकन एवं निरीक्षणमा पुग्नुभएका मन्त्री भण्डारीले वैदेशिक रोजगारमा गएका नेपालीको ठूलो योगदान भएकाले यसलाई व्यवस्थित बनाउन लागिपर्ने बताउनुभएको हो ।

“अर्थतन्त्रमा रेमिट्यान्समा महत्वपूर्ण योगदान पु¥याउने वैदेशिक रोजगारीमा जाने नेपालीले सम्मान र इज्जतका साथ विश्वबजारमा आफ्नो श्रम प्रयोग गर्नसक्ने वातावरण सिर्जना गर्ने मेरो पहिलो प्रयास हुनेछ”, उहाँले भन्नुभयो ।

विभिन्न देशमा रोजगारीका लागि गैरकानुनी ढङ्गले जाने अवस्था सिर्जना भइरहेको भन्दै उहाँले यसले उक्त देशसँग दौत्य सम्बन्ध स्थापित गरी सहज बनाउने बताउनुभयो ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा हुने ठगी, गैरकानुनी कामको अन्त्य गर्दै श्रमिकको हकहितका लागि काम गर्ने सम्मानित मन्त्रालयका रुपमा अगाडि बढाउन आफू लागिपर्ने बताउनुभयो ।

जनताले अनुमोदन गरेको गठबन्धनको सरकार बनेको भन्दै यो स्थायी र दीर्घकालसम्म जाने दाबी गर्नुभयो । सो अवसरमा उहाँले नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिकमा माल्यार्पण गर्नुभएको थियो । मन्त्री भण्डारीलाई आश्रमका सञ्चालिका कपालीले आश्रमको गतिविधिबारे जानकारी गराउनुभएको थियो । 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update