Public Pana
चिनियाँ नेतासँग देउवाको प्रतिवद्धता- नेपालमा चीन विरुद्ध कुनै गतिविधि गरिने छैन

 प्रधानमन्त्री शेरबहादुर देउवाले चीनविरुद्ध नेपालमा कुनै पनि गतिविधि गर्न नदिइने प्रतिबद्धता व्यक्त गरेका छन्।

जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले मंगलबार सिंहदरबारमा गरेको भेटवार्तामा देउवाले यस्तो प्रतिवद्धता जनाएका हुन्।

देउवाले नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेको जानकारी दिँदै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गरे।

उनले भने, ‘चीनका विरुद्ध नेपाली भूमिमा कुनै पनि गतिविधि गर्न दिँदैनौ।’ उनले नेपालको आर्थिक सामाजिक क्षेत्रमा विगत लामो समयदेखि चीनले गर्दै आएको सहयोगको प्रशंसा गरे ।

हिजो सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग भएको दुई देशबीचको सम्झौताप्रति चिनियाँ नेताले खुसी व्यक्ति गरे।

उक्त सम्झौताले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउने देउवाको विश्वास छ।

भेटवार्ताका क्रममा चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले दुई देशबीच ६ दशकभन्दा लामो समयदेखि असल छिमेकीका रुपमा मैत्रीपूर्ण सम्बन्ध स्थापित हुँदै आएको बताए ।

उनले चीनमा हालै गएको भूकम्पमा नेपालले व्यक्त गरेको सहानुभूतिप्रति धन्यवाद दिए । अध्यक्ष चान्शुले सन् १९६० को दशमा तत्कालीन प्रधानमन्त्री विपी कोइराला र चिनियाँ नेतृत्वबीच भएको समझदारी, भेटघाट र भ्रमणको स्मरण पनि गरे।

उनले नेपालले आउँदो असोज ३ मा मनाउन लागेको नेपालको संविधान दिवसको शुभकामना पनि दिए । साथै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका सन्दर्भमा चीन गम्भीर र सचेत रहेको अध्यक्ष चान्शुको भनाई छ।

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  २२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update