Public Pana
चैतेदशैँमा सोमेश्वरगढी र गोद्धकमा भक्तजनको घुइँचो

 

चितवनका धार्मिक तथा पर्यटकीयस्थल विक्रमबाबा, सोमेश्वरगढी र गोद्धकमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यी शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो । चैतेदेशैँको नवरात्र सुरु भएदेखि नै यहाँ नेपालका विभिन्न जिल्ला र भारतबाट समेत भक्तजन आएका छन् । हरेक वर्ष चैतेदशैँमा मनाइने विक्रमबाबा मेला एक साता अघिदेखि सुरु भएको हो ।

भरतपुर महानगरपालिका–२३ को कार्यालय, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा एक साताअघि पूजा गरेपछि मेला सुरु भएको थियो । भरतपुर महानगरको वडा नं २३ का वडाध्यक्ष दीपक दबाडीका अनुसार मेला चैत २३ गतेसम्म सञ्चालन हुनेछ ।

उहाँले यस वर्ष हजारौँ भक्तजन विक्रमबाबा मेलामा आएको बताउनुभयो । राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । विक्रमबाबाको पूजा परापूर्वकालदेखि थारू जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्न थालेका छन् ।

सन्तान प्राप्ति र सुखलगायत मनोकांक्षा पूरा हुने विश्वासका साथ विक्रमबाबाको पूजा गर्ने प्रचलन छ । यस्तै माडीको गोद्धक मेलामा पनि भक्तजनको घुइँचो लागेको छ ।

धार्मिक एवं पुरातात्विक महत्व बोकेको माडी नगरपालिका–१ मा रहेको गोद्धकमा गोद्धक राम चरित्रकथा यज्ञ एवं गोद्धक मेला एक साता अघिदेखि सुरु भएको हो । चैत १७ गतेसम्म मेलासँगै यज्ञ सञ्चालन हुनेछ । मेलामा गुरु चैतन्य कृष्णले राम कथावाचन गर्नुभएको छ ।

यज्ञसँगै गोद्धक मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम, ठेलो फाल्ने प्रतियोगिता, भलिबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । गोद्धक क्षेत्र विकास संस्थाका अध्यक्ष तुलसिंह गुरुङले यहाँ रहेका चार धामको अवलोकन गरी धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताउनुभयो । गोद्धक क्षेत्रका बारेमा महाभारत तथा रामायणमा रोचक कथा समेटिएका छन् ।

यहाँ गोद्धकनाथ बाबा मन्दिर, शिवमन्दिर, सीता गुफा, परशुराम कुण्ड, द्रौपती कुण्ड, कुकुरनाथ, बिरालोनाथलगायत प्राचीन एवं धार्मिक महत्व बोकेका ठाउँ गोद्धक क्षेत्रमा प्रशस्तै छन् । गोद्धकमा पाँचपाण्डवले तपस्या गर्थे भन्ने विश्वास छ । प्राचीन किंवदन्तीअनुसार यहाँ परशुरामले तपस्या गरेका थिए ।

परशुराम ऋषिले आफ्नै आमाको हत्या गरेर पाप मोक्ष (पाप पखाल्न) गर्न गोद्धक क्षेत्रमा रहेको देउता खोलाको सिरानको कुण्ड (परशुराम कुण्ड)मा पुगी स्नान गरेकोे धार्मिक विश्वास रहेको छ । धार्मिक पुरातात्विक महत्वका मूर्ति, इनार, कुण्ड अवलोकन गर्न र विशेष पर्वमा मठमन्दिरमा स्वदेशी तथा विदेशी भक्तजनको घुइँचो लाग्ने गर्छ । यस्तै माडीको सोमेश्वरगढीस्थित कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

कालिका मन्दिरमा प्रत्येक वर्ष चैत शुक्ल प्रतिपदादेखि चैत शुक्ल नवमीसम्म विशेष पूजाआजासहित भव्य मेला लाग्ने गर्छ । नेपाल र भारतको सीमाक्षेत्रमा रहेको सो मन्दिर परिसरमा हरेक वर्ष चैतेदशैँको अवसर पारेर हुने मेलामा नौ दिनसम्म पूजाआजा हुने परम्परा छ ।

मेलामा पूजा गर्न दैनिक दशौँ हजारको सङ्ख्यामा नेपाली र भारतीय भक्तजन आउने गरेका छन् ।

 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update