Public Pana
खेलकुदलाई प्राथमिकतामा राखेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभएको छ ।

आजदेखि पटिहानीमा सुरु भएको नेपाल कराँते महासङ्घको महाधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले खेल क्षेत्र देशको मात्रै नभएर अन्तर्राष्ट्रिय गौरवको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “खेल क्षेत्रको विकासका लागि सरकार लागिपरेको छ ।

खेलकुदका क्षेत्रमा बजेट बढाउन सरकार लागेको छ ।” खेलकुदका क्षेत्रमा लगानी बढाउन सके यस क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा गौरव बढाउने उहाँले बताउनुभयो ।

पछिल्लो समय खेल क्षेत्रमा नेपालको प्रगतिले सरकारलाई लगानी गर्न बाध्य बनाएको बताउँदै उहाँले खेलकुद क्षेत्र चलायमान हुन आवश्यक रहेको बताउनुभयो । विगत १० वर्षदेखि अधिवेशन हुन नसकेको कराँते महासङ्घले अधिवेशनपछि आफ्नो गतिविधि बढाउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पर्यटनसँग खेललाई जोडेर अघि बढाउनुपर्ने बताउनुभयो । देशमा खेल क्षेत्रले फड्को मारिरहेको समयमा कराँतेले पनि सोहीअनुसार विकास गर्न सक्नुपर्ने उहाँको भनाइ थियो ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्क घिसिङ, भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतो र कराँते महासङ्घका अध्यक्ष युवराज लामालगायतले बोल्नुभएको थियो । महाधिवेशनमा देशभरमा ७६ जना प्रतिनिधि सहभागी भएका छन् ।

उनीहरूले अध्यक्ष, सात उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सात जना कार्यसमिति सदस्यसहित २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । यस्तै हरेक प्रदेशले एक–एक जना केन्द्रीय सदस्य प्रदेशले नै छानेर पठाउने छ ।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update