Public Pana
रूपान्तरणको अभियान दूरदराजमा पुरयाउन आवश्यक छ : प्रधानमन्त्री दाहाल

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थालाई दूरदराजमा पुरयाउन आवश्यक रहेको बताउनुभएको छ । ‘लायन्स क्लब डिष्ट्रिक्ट–३२५ जे’को महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सामाजिक सङ्घ संस्थाले ग्रामीण क्षेत्रमा पुगेर सेवा दिनुपर्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो– “शहरकेन्द्रित शैक्षिक युवामा मात्र होइन, दूरदराजमा रहेका, परिवर्तनप्रति रूचि राख्ने, सामाजिक रूपान्तरणको आन्दोलनमा योगदान पु¥याउनसक्ने विपन्न, सीमान्तकृत, महिला, दलित, जनजाति, मधेशीलगायत सबै वर्ग र समुदायका युवासम्म पुगेर उनीहरुको नेतृत्व विकास गर्ने नीति र कार्यक्रमको आवश्यकता छ ।”

सो अवसरमा प्रधानमन्त्री दाहालले वर्तमान सरकार राज्य, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक आन्दोलनको सहकार्यका आधारमा देशमा विद्यमान राजनीतिक–आर्थिक चुनौती छिचोल्दै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न संकल्पबद्ध रहेको बताउनुभयो ।

सन् १९१७ मा मेल्भिन जोन्सले स्थापना गर्नुभएको लायन्स क्लब अन्तर्राष्ट्रियको प्रभाव विश्वव्यापी छ । नेपालमा सन् १९७१ मा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको अध्यक्षतामा लायन्स क्लब अफ विराटनगर स्थापना भएको पाइन्छ ।

त्यही ऐतिहासिक पृष्ठभूमिको जगमा उभिएर नेपालमा लायन्स क्लबले सामाजिक क्षेत्रमा विविध गतिविधि गर्दै आएको छ । हाल नेपालमा लायन्सका १५ डिस्ट्रिक्ट र ५० हजारभन्दा बढी सदस्य छन् । यस महाधिवेशनले सामाजिक सेवाका क्षेत्रमा आफूलाई थप परिस्कृत र परिमार्जित गर्दै अगाडि बढ्नेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

उहाँले भन्नुभयो– “राजनीतिक एवं शैक्षिकरूपले चेतनशील र जागरूक युवाको विशेष सक्रियतामा लायन्स क्लबले देशभरि विभिन्न सामाजिक एवम् मानवीय कार्यको नेतृत्व गरिरहेको छ ।

खासगरी कोभिड–१९ महामारी, महाभूकम्पजस्ता राष्ट्रिय बिपत्तिमा लायन्सले आफूलाई अग्रमोर्चामा उभ्याउँदै सामाजिक जिम्मेवारी पूरा गरिरहेको छ ।” देशको विकास र समृद्धिको आकांक्षा राख्ने युवाका निम्ति प्रेरणाको विषय मात्र नभएर देश निर्माणको अग्रमोर्चामा अग्रसर राजनीतिकर्मीका लागि समेत लायन्स गौरवको विषय भएको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “लोकतान्त्रिक राज्यप्रणालीमा राज्य र नागरिकको बलियो सहकार्यका आधारमा नै समाज सेवा र सामाजिक रूपान्तरणका क्षेत्रमा प्रभावकारी कार्यसम्पादन गर्न सकिन्छ । राज्य र नागरिकको बलियो एकता नै लोकतन्त्रको त्यस्तो आधारस्तम्भ हो ।”

उहाँले राज्यप्रति नागरिकको अपनत्वबोध गराउने र सामाजिक आन्दोलनलाई राज्यको नीति निर्माणसँग जोड्न सफल हुने बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो– “राजनीति सबै नीतिको केन्द्र हुनुका नाताले सामाजिक जीवनका सम्पूर्ण क्षेत्रमा राजनीतिको केन्द्रीय भूमिका रहन्छ ।

हामीले राजनीतिलाई जति आदर्शवान, मर्यादित, नैतिक र जनमुखी बनाउन सक्छौँ, सामाजिक जीवनका अन्य क्षेत्रसमेत त्यसरी नै जिम्मेवार र उत्तरदायी बन्दै जान्छन् ।

यसका लागि राजनीतिमा देश र जनताको परिवर्तन र सामाजिक रूपान्तरणका निम्ति केही गर्ने संकल्प बोकेका युवाको संलग्नता र नेतृत्व अपरिहार्य रहन्छ ।”

 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update