Public Pana
विजेता खेलाडीलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशिको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त पुरस्कारको घोषणा गरेका हुन् । 

‘मलाई अत्यन्त खुसी लागेको छ । हिजो तपाईंहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ ।

आगामी दिनमा समेत तपाईंहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु,’ खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले भने, ‘विश्वकप छनोटका लागि तपाईहरूलाई थप सफलता मिलोस्। म तपाईहरूको सुखदुखमा साथमै हुनेछ । यसअघि पनि सरकारले तपार्इंहरूलाई जनही दुई लाख राशिले पुरस्कृत गरिसकिएको छ। आज म तपाईहरूलाई जनही रू. तीन लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु ।’ 

कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता छ ।

‘यस सन्दर्भमा मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछु,’ उनले भने । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update