Public Pana
श्रीलंकाले जित्यो टी-२० एसिया कपको उपाधि

श्रीलंकाले टि२० एसिया कप २०२२ को फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै उपाधि जितेको छ । श्रीलंकाले सानदार प्रदर्शन गर्दै पाकिस्तानलाई हराउँदै छैटौं पटक एसिया कपको उपाधि जितेको छ ।

श्रीलंकाले सन् २०१४ पछि पहिलो पटक एसिया कपको उपाधि जितेको हो । जितको लागि १ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय ४७ रन बनायो ।

पाकिस्तानका मोहम्मद रिजवानले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५५ रनमा आउट भए । पाकिस्तानलाई अन्तिम ४ ओभरमा ६१ रन चाहिँएको थियो । वानिन्दु हसरंगाको १७ औं ओभरमा दुई रन खर्चिर तीन विकेट लिएपछि च्याम्पियन नजिक पुगेको थियो ।

पहिलो बलमै ठूलो सट खेलेका रिजवान डिप मिडविकेटमा धनुष्का गुणाथिलकाबाट क्याच भएपछि पाकिस्तानको जितको सम्भावना टाढिएको थियो । एक बलपछि आसिफ अली डक आउट भए । पाँचौं बलमा वानिन्दु हसरंगाले खुसदील शाहलाई दुई रनमा क्याच गराउँदै एकै ओभरमा तीन विकेट लिएपछि श्रीलंका जित नजित पुगेको थियो ।

युवा तीव्र गतिका बलर प्रमोद मदुशानले चौथो ओभरको दोस्रो बलमा बाबर आजमलाई ५ रनमा दिलशान मदुशनकाकाट क्याच आउट गराए । बाबर लेग साइडको बल खेल्नेक्रममा फाइन लेगमा क्याच भएका थिए । लगत्तै अर्को बलमा फखार जमान गोल्डेन डकमा बोल्ड भए ।

तेस्रो विकेटका लागि रिजवान र इफित्खार अहमदले ५९ बलमा ७१ रनको साझेदारी गरेका थिए । प्रमोदले नै १४ औं ओभरको दोस्रो बलमा इफ्तिखारलाई क्याच गराउँदै साझेदारी तोडेका थिए । इफ्तिखारले ३१ बलमा २ चौका र १ छक्कासहित ३२ रनमा आउट भए । पाकिस्तानले १९ रन जोड्न मध्यक्रमका पाँच ब्याटर गुमाएको थियो । पाकिस्तानका मोहम्मद हसनैन ८ र हरिस रौफले १३ रन बनाए ।

श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । प्रमोद मदुशनले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए । चामिका करुणारच्ने दुई र महेथ थिक्सेनाले एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७० रन बनायो । श्रीलंकाका भानुका राजपक्षे ४५ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७१ रनमा अविजित रहे । राजपक्षेले १८ औं ओभरको चौथो बलमा ब्यक्तिगत ४६ रनमा शादब खानले क्याच ड्रप गर्दा जीवनदान पाएका थिए ।

वानिन्दु हसरंगा २१ बलमा ५ चौका र १ छक्कासहित ३६ रनमा आउट भए । एक समय ५८–५ को खराब अवस्थामा पुगेको श्रीलंकालाई छैटौं विकेटका लागि राजपक्षे र हसरंगाले ३६ रनमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट पूनरागन गराएका थिए । तीव्र गतिका बलर नसिम शाहले पहिलो ओभरको तेस्रो बलमा कुशल मेन्डिसलाई शून्यमा बोल्ड गरे । नसिमको स्विंग बलमा कुशल बोल्ड भए ।

चौथो ओभरको दोस्रो बलमा हरिस रौफले ओपनर पाथुम निसंकालाई ८ रनमा बाबर आजमबाट क्याच गराउँदै प्रमुख सफलता दिलाए । छैटौं ओभरको पहिलो बलमा हरिस रौफले धनुष्का गुणाथिलकालाई एक रनमा बोल्ड गर्दै श्रीलंकालाई ३६–३ को अवस्थामा पुर्याए ।

पार्ट टाईम स्पिनर इफ्तिखार अहमदले धनन्जय डि सिल्भालाई २८ रनमा कट एण्ड बोल्ड गरेपछि श्रीलंका ५३–४ को कमजोर अवस्थामा पुगेको थियो । नवौं ओभरको पाँचौं बलमा शादब खानले श्रीलंकाका प्रमुख हतियार कप्तान दासुन शनकालाई २ रनमा बोल्ड गरेपछि श्रीलंकाको बलियो योगफलको सम्भावना टाढिएको थियो ।

तर भानुका राजपक्षेले राम्रो पूनरागमन गराए । पाकिस्तानका तीव्र गतिका हरिस रौफले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । शादब खानले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । नसिम शाह र इफ्तिखार अहमदले एक एक विकेट लिए ।

श्रीलंकाको यो छैटौं एसिया कप उपाधि हो । श्रीलंकाले पहिलो पटक सन् १९८६ मा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जितेको थियो । १९९७ मा भारतलाई फाइनलमा ८ विकेटले हराउँदै जितेको थियो । २००४ र २००८ मा भारतलाई नै लगातार हराउँदै उपाधि जितेको थियो । पछिल्लो पटक २०१४ को एसिया कपमा पाकिस्तानलाई नै ५ विकेटले हराउँदै उपाधि जितेको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update