Public Pana
महाभियोग सिफारिस समितिमा चोलेन्द्रको बयान आज पनि

महाभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिँदै छ। समितिको बैठक आज दिउँसो साढे १२ बजे बस्ने लागेको हो।

आजको बैठकमा पनि जबराविरुद्धको आरोपमाथिका प्रश्नको जवाफ माग्ने क्रम जारी रहनेछ। समितिले अहिलेसम्म १२ वटा प्रश्न मात्रै सोधेको छ। जबराविरुद्ध ४२ वटा आरोप लागेको छ। ति सबै प्रश्नको जवाफ समितिले लिने जनाएको छ। तर जबरा भने प्रश्नको उत्तरमा भन्दा आफ्ना सहकर्मी न्यायाधीशहरु र राजनीतिक दलका शीर्ष नेतालाई आरोप लगाउन मै समय खर्च गरिरहेका छन्। समितिको अहिले जम्मा तीन वटा मात्रै बैठक बसेको छ। 

जबराविरुद्ध  गत फागुन १ गते ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए। त्यसपछि उनी स्वतः निलम्बनमा परेका छन्। सत्तारूढ दल नेकपा माओवादी केन्द्रका देव गुरुङ, नेपाली कांग्रेसकी पुष्पा भुसाल र एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ प्रस्तावक रहेको जबराविरुद्धको महाभियोग प्रस्ताव गत वर्ष फागुन २९ गते प्रतिनिधिसभाको बैठकमा पेस भएको थियो।​ त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले महाभियोग सिफारिस समिति बनाएका थिए।

उक्त समितिमा मीनबहादुर विश्वकर्मा, शिवमाया तुम्बाहाम्फे, विष्णु पौडेल, लालबाबु पण्डित, कृष्णभक्त पोखरेल, यशोदा सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, कल्याणी खड्का, प्रमोद साह र एकवाल मियाँ सदस्य रहेका छन्।

प्रतिनिधिसभाको कार्यकाल अब एक हप्ता मात्रै बाँकी रहँदा समितिले बयान सक्ने नसक्ने अझै अन्योल छ। प्रतिनिधिसभाको कार्यकाल सकिएपछि समितिको औचित्य सकिने भएकोले महाभियोग स्वतः खारेज हुने  एकथरिको मत छ भने अर्को थरिले भने महाभियोग कायमै रहने धारणा राखिरहेका छन्।  

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update