Public Pana
बार्सिलोना शीर्ष स्थानमा उक्लियो

स्पेनिस ला लिगा फुटबलमा लगातार चौथो जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार राति भएको खेलमा काडिजलाई ४-० गोल अन्तरमा हराउँदै बार्सिलोनाले लगातार चौथो जित निकालेको हो।

बार्सिलोनालाई जिताउन फ्रान्की डी योङ, रोबर्ट लेवान्डोस्की,अन्सु फाती, ओसुमाने डेम्बेलेले समान एक-एक गोल गरे ।

पहिलो हाफ गोलरहित बरबरीमा सकिएको खेलको दोस्रो हाफमा सबै गोल सम्भव भएको थियो।

खेलको ५५ औं मिनेटमा फ्रान्कीले गोल गर्दै बार्सिलोनालाई सुरूआती अग्रता दिलाएका थिए ।

६५ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। 

खेलको ८५ औं मिनेटमा दर्शकको स्वास्थ्यमा समस्या आएपछि खेल केही समय रोकिएको थियो ।

दर्शकको स्वास्थ्यमा समस्या आएपछि काडिजका गोलरक्षक लेडेज्माले तत्कालै स्वास्थ्य उपकरण बिरामी दर्शकसम्म पुर्‍याउन मदत गरेका थिए ।

पुनः सुरू भएको खेलको ८६ औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाए  ।

त्यसपछि खेलको इन्जुरी समयमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई ४-० को सहज जित दिलाए ।

यो जितसँगै बार्सिलोनाले ५ खेलमा १३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ।

समान खेलमा अंक बिहीन काडिज पुछारमा रहेको छ।

एक खेल कम खेलेको रियल म्याड्रीड १२ अंकसहित दोस्रो स्थानमा झरेको छ।

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  ०६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update