Public Pana
वीरेन्द्रनगर डेङ्गुको जोखिममा

कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर डेङ्गु रोगको जोखिममा रहेको पाइएको छ । सुर्खेतका नौ वटा स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिका डेङ्गुको उच्च जोखिममा रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख भूपेन्द्र गिरीले यस वर्ष सुर्खेतमा एक सय पाँच जना डेङ्गु रोगका बिरामीमध्ये वीरेन्द्रनगरभित्रका मात्रै ७५ जना रहेको बताए । प्रमखु गिरीका अनुसार यो तथ्याङ्कबाट नै वीरेन्द्रनगर डेङ्गुको जोखिममा रहेको पाइएको हो ।

वीरेन्द्रनगरका १६ वटा वडामध्ये सबैभन्दा धेरै बिरामी वडा नं ४ मा रहेका छन् । वडा नं ४ मा १५, वडा नं ३ मा १४, वडा नं २ मा १० र वडा नं ६ र ७ मा सात÷सात जना बिरामी रहेका छन् ।

डेङ्गु रोगविरुद्ध खोप नभएको र खास उपचार पनि नभएको हुँदा यसलाई रोक्ने प्रभावकारी उपाय नै पानी जम्न नदिनु, यसको लार्भा नष्ट गर्नु नै उत्तम रहेको जनस्वास्थ्य शाखा प्रमुख गिरीले बताए ।

    वीरेन्द्रनगरमा डेङ्गु रोगको जोखिम बढ्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाले यसको न्यूनीकरणका लागि सर्वपक्षीय सुझावसमेत मागेको छ । अघिल्लो वर्ष सुर्खेतका एक सय २८ जनामा वीरेन्द्रनगरमा मात्रै ९४ जना र त्यसअघि सुर्खेतका सात सय ९८ जनामा वीरेन्द्रनगरका मात्रै सात सय ३९ जना डेङ्गुका बिरामी फेला परेका थिए । 

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  २१:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update