Public Pana
फोहरबाट ग्यास उत्पादन हुने

बिर्तामोड नगरपालिकाको टोलीले कन्काइ नगरपालिका– १ मा निर्माण भइरहेको कन्काइ, विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनी लिमिटेडको आज अनुगमन गरेको छ ।

 

नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वडा नं ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङवा, नगपालिकाका अधिकृत मेघराज बास्तोला लगायतको टोलीले सो अनुगमन गरेको हो ।

टोलीलाई कन्काइ विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन समितिका अध्यक्ष मिनाल तिम्सिनाले अहिलेसम्म भए गरेका कामको जानकारी गराए। काम अन्तिम चरणमा पुगेकाले अबको करिब दुई महिनामा कम्पनी सञ्चालनमा आउने अध्यक्ष तिम्सिनाले जानकारी दिए । 

कन्काइ, विर्तामोड र अर्जुनधारा नगरपालिका र जनताको संयुक्त सहभागितामा नवीकरणीय ऊर्जा सञ्चालनमा आउन लागेको हो । यसमा रु १४ करोड ३२ लाख खर्च भइसकेको जनाइएको छ ।

कम्पनी सञ्चालनमा आएपछि तीन वटा नगरपालिकामा उत्पादन भएको फोहरबाट दैनिक एक हजार ६०० केजी ग्यास उत्पादन हुने कम्पनीले जनाएको छ । पछिल्लो समय जिल्लाको मेचीनगर र शिवसताक्षी नगरपालिका पनि संस्थामा आबद्ध हुनेबारेमा सल्लाह भइरहेको संस्थाका अध्यक्ष तिम्सिनाले बताए। नवीकणीय ऊर्जा सञ्चालनमा आएपछि विर्तामोडमा अहिले भइरहेको फोहर व्यवस्थापनको समस्या पनि हट्नेछ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update