Public Pana
बलात्कारको आरोप लागेका सन्दिप लामिछाने निलम्बित

 नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने निलम्बनमा परेका छन्।

नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई क्रिकेट एसोसिएशन नेपाल (क्यान)ले बिहीबार निलम्बन गरेको हो।

लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्‍याएर नाबालिगमाथि पटकपटक बलात्कार गरेको आरोप लागेको छ।

आफूमाथि बलात्कार गरेको भन्दै पीडित १७ वर्षिया बालिकाले मंगलबार प्रहरीमा उजुरी दिएकी थिइन्।

लामिछानेविरूद्ध जाहेरी परेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको थियो। उनीविरूद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति पनि लिएको छ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि क्यानले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको कार्यबाहक सचिव प्रशान्त विक्रम शाहले जानकारी दिएका छन्।

‘काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णयअनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ,’ बिहीबार साँझ क्यानद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

302097604_464017185754667_2397635344796768345_n1662653116.jpg

नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई क्रिकेट एसोसिएशन नेपाल (क्यान) ले निलम्बन गरेको पत्र।

प्रहरीले उनीहरू बसेको भनिएको होटलको सिसिटिभी फुटेज पनि प्रमाणको रूपमा संकलन गरिसकेको छ। त्यस होटलमा लामिछानेले आफूमाथि पटकपटक बलात्कार गरेको प्रहरीसमक्ष पीडितले बयान दिएकी छन्।

यस्तै उक्त होटल जानुअघि उनीहरू भक्तपुरको नगरकोट गएका थिए। त्यहाँबाट पनि सिसिटिभी फुटेज ल्याएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

१८ वर्षमुनिका नाबालिगमाथि सहमतिमै गरेको करणीलाई कानुनले बलात्कार मानेको छ।

मुलुकी अपराध संहिता, २०७४ को  परिच्छेद-१८ करणी सम्बन्धी कसूरको दफा २१९ को उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा उनले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ।’

काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न बिहीबार अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।

 ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबरजस्ती करणी गर्न नहुने’ कसुरमा सन्दीप लामिछानेमाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएसँगै पक्राउ पुर्जी जारी भएको छ,’ उनले भने।

सहयोगका लागि सन्दीपको अपिल

आफूमाथि बलात्कारको आरोप लागेपछि क्यारेबियन मुलुक सेन्ट लुसियामा रहेका सन्दिप लामिछानेले क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) सँग सम्पर्क गरेर आफूलाई कानुनी सहयोग गर्न माग गरेका छन्। लामिछानेले बिहीबार क्यानसँग सम्पर्क गरेर कानुनी सहयोगको अपेक्षा राखेका हुन्।

हाल वेस्टइण्डिजमा रहेका लामिछानेले क्यानसँगको फोन वार्तामा आफूले जबरजस्ती करणी नगरेको दाबी गर्दै कानूनी उपचारका लागि सहयोग गरिदिन आग्रह गरेको क्यानका सचिव प्रशान्त मल्लले बताए।

उनले क्रिकेटर लामिछाने प्रिमियर लिगका खेल सकिएपछि स्वदेश फर्किने बताएको पनि जानकारी दिए।

फोनवार्तामा क्रिकेटर लामिछानेले कानूनी उपचारमा प्रोफाइलिस्ट लयर खोजिदिन आग्रह गरेको बताए।

आइसिसीको चासो

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नाबालिगमाथि करणी गरेको आरोप लागेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले चासो देखाएको छ।

क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लका अनुसार आइसिसीका उच्च अधिकारीले घटनामा चासो दिएका छन्।

'आइसिसीका उच्च अधिकारीले मलाई यसविषयमा बारम्बार सोधेका छन्। मैले घटनाको ब्रिफिङ गरेको छु,' मल्लले भने, 'आइसिसीले यो केसमा के हुन सक्छ भनेर चासो राखेको छ। मैले नाबालिग केस भएको र नेपालको कानुनले बलात्कार भन्छ भनेपछि उनीहरू पनि सिरियस भएका छन्।'

अबको प्रक्रिया के हुन्छ?

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

पुर्जी जारी भएसँगै प्रहरीले उनलाई जतिबेला पनि पक्राउ गर्न सक्छन्। तर अहिले उनी नेपालमा छैनन्।

उनी घटना भएको भोलिपल्टै अर्थात् भदौ ६ गते केन्यामा हुने टी-२० खेलका लागि गएका थिए। त्यहाँबाट उनी क्यारेबियन मुलुक सेन्ट लुसिया पुगेका छन्।

काठमाडौं प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले उनी जुनसुकै अवस्थामा पक्राउ पर्न सक्ने बताए।

‘हामी आफैं पनि सम्पर्क गर्छौं। पुर्जी नै जारी भइसकेपछि उनले आत्मसमर्पण गर्ने भन्ने हुँदैन। कुनैबेला पनि पक्राउ गर्न सक्छौं,’ उनले भने, ‘आवश्यक सबै प्रक्रिया पुर्‍याउँछौं।’

विदेशमा रहेका उनलाई पक्राउ गर्न प्रहरीले औपचारिक तथा अनौपचारिक माध्यम प्रयोग गर्न सक्ने उनी बताउँछन्।

नेपाल नआएमा इन्टरपोलको सहयोगमा पक्राउ गर्न सकिने बोहराले बताए। इन्टरपोलबाट पुर्जी जारी गर्न पनि अदालतको अनुमति माग्नुपर्छ। उनलाई विभिन्न माध्यमबाट पक्राउ गरी नेपाल ल्याउन सकिने भए पनि कहिले ल्याउने भन्ने टुंगो लागेको छैन।

जाहेरी परेसँगै प्रहरीले यस घटनाको अनुसन्धान अघि बढाएको हो। केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआएजी) टेकप्रसाद राईले सन्दीपमाथि निगरानी सुरू भइसकेको बताएका थिए।

सामान्य रूपमा बोलाएर आउने सम्भावना पनि न्यून भएको उनी बताउँछन्।

 ‘आरोप पुष्टि हुने प्रमाणहरू बलियो भएमा त्यहाँको स्थानीय प्रहरीलाई अनुरोध गरेर पनि ल्याउन सक्छौं। अर्को इन्टरपोलमार्फत् पनि पक्राउ गर्न सक्छौं,’ उनले भनेका थिए, ‘नेपालमा भएको भए प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्थ्यो। विदेशमा भएको हुनाले कानुनी प्रक्रिया पुर्‍याएर जान्छौं।’

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update