Public Pana
नामिबियाविरुद्ध नेपालको शानदार जित


नेपालले नामिबिया विरुद्धको खेलमा शानदार जित हासिल गरेको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत शनिबार भएको खेलमा नेपालले नामिबियालाई तीन विकेटले पराजित गरेको हो । नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले सात विकेटको क्षतिमा ४७.३ ओभरमा पूरा गरेको छ ।
नौ रनमै कुशल भुर्तेललाई गुमाएको नेपालका लागि आशिफ शेख र ज्ञानेन्द्र मल्लले १३९ रनको साझेदारी गरेका थिए । जसमा आशिफले ९८ बलमा ८१ रन र ज्ञानेन्द्रले ७४ बलमा ६५ रन बनाएका थिए ।
त्यसपछि आएका कुशल मल्लले पनि नेपालका लागि अर्धशतक प्रहार गरे । उनले ४९ बलमा ६२ रन बनाए । त्यस्तै, रोहित पौडेलले ४९, सोमपाल कामीले आठ, सन्दीप जोराले तीन तथा दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक-एक रन बनाए ।
नामिबियाका लागि रुबेन ट्रम्पेलमनले तीन, बेनार्ड स्कल्जले दुई र टंगेनी लुंगामेनी एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ६ विकेटको क्षतिमा २७४ रन बनायो । नामिबियाका लागि जेन ग्रिनले ७५ रन बनाए। उनले ६३ बलमा ११ चौका र एक छक्का प्रहार गरे ।
त्यस्तै, पिक्की या फ्रेन्सले ४९, ह्यान्डी लोरेन्सले ४१, रुबेन टुम्पेलमनले २४, मिचेल भानलिंगेनले २२ र कार्ल ब्रिक्स्टोकले २० रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले तीन र करण केसीले एक विकेट लिए । 
 

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update