Public Pana
दशैंका लागि असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ् खुल्ने, व्यवस्थित गर्न मन्त्री राईको निर्देशन

 

दशैंका लागि असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ् खुल्ने भएको छ। यातायात व्यवसायीसँग बुधबार भएको छलफलमा असोज १ देखी व्यस्थित रुपमा टिकट बुकि खोल्ने तयारी गर्न आग्रह गरेको यातायात व्यवस्था विभागका महानिर्देक टोकराज पाण्डेले बताए ।

टिकटमा कालोबजारी हुन नदिन र व्यवस्थित रुपमा दशैमा घर जाने यात्रुलाई आवागमन गर्ने व्यवस्था मिलाउन पनि विभागले निर्देशन दिएको छ ।

महानिर्देशक पाण्डेका अनुसार सुरक्षाकर्मीसँग आवश्यक समन्वय गरी टिकट बुकिङलाई व्यवस्थित गरिनेछ ।

यात्रुहरुको सुरक्षालाई ध्यान दिएर आवश्यक बसहरुको व्यवस्थापन मिलाउन पनि यातायात व्यवसायीहरुलाई निर्देशन दिएको पाण्डेले बताए ।

यातायात आवागमनमा सहजता बनाउन अत्यावश्यक बाहेकका मालबाहक सवारी असोज १५ गतेदेखि २२ गतेसम्म नारायणगढदेखि काठमाडौंसम्म सञ्चालनमा रोक लगाउने निर्णय समेत भएको पाण्डेले बताए ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले दशैको बेला यात्रुहरुको भिडलाई मध्यनजर गरि उनीहरुको सुरक्षा र आवागमनलाई व्यवस्थित बनाउन निर्देशन दिए अनुसार विभागले पनि यातायात सम्बद्ध सरोकाराला निकायसँग समन्वय गर्ने महानिर्देशक पाण्डेले बताए ।

मन्त्री राईले चाडवाडको बेला यात्रुहरु ठगिने प्रवृति रहेको भन्दै त्यसलाई रोक्न निर्देशन दिएका छन् । 

असोज १ गतेदेखि बुकिङ खोल्ने निर्णय भए अनुसार महासंघले भोलीदेखी आवश्यक तयारी थाल्ने नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । 

टिकट बुकिङलाई सहज बनाउन अनलाइन प्रणालीबाट र  उपत्यकाका विभिन्न ठाउँमा बुथ बनाएर टिकट बिक्री गर्ने योजना बनाएको यातायात व्यवसायीहरुले बताएका छन् । । 

 

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update