Public Pana
मुम्बई एयरपोर्टमै भारतीय चिकित्सकलाई हस्तान्तरण गरेर नेपालको मेडिकल टिम आजै काठमाण्डौ फर्किने

खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका कांग्रेस सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत को मुम्बई लगिएको छ । 
श्री एयरलाइन्सको जहाजबाट मुम्बई लगिएका सांसद भण्डारीको बिमानभित्रै क्रिटिकल युनिट व्यवस्थापन गरी नर्भिक इन्टरनेशनल हस्पिटलका एनेथेसिष्ट डा. प्रदीप तिवारी नेतृत्वको ६ जनाको टोलीलाई पठाइएको छ । 
नेपाली मेडिकल टिमले बिमानमा भण्डारीको स्वास्थ्य अवस्थालाई थप बिग्रन नदिन आवश्यक सहजीकरण गर्नेछ । 
डा. प्रदीपको टोलीले मुम्बईस्थित सिबाजी इनटरनेशन एयरपोर्टमै  मुम्बईस्थित नेशनल बर्नस् सेन्टरको टिम समक्ष भण्डारीलाई हस्तान्तरण गर्ने र उक्त टिम एयरपोर्टबाट आज काठमाण्डौ फर्किनेछ । 
नेपालस्थित भारतीय दुतावास र भारतस्थित नेपाली दुतावासले उपचारका लागि आवश्यक सहजीकरण गरेको कंग्रेसका एक नेताले जानकारी दिए । 

ग्यास सिलिन्डर विस्फोट भएपछि बुधबार राति कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचारका लागि सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारीलाई लगिएको थियो । 

शरीरको करिब ३० प्रतिशत भाग जलेको भण्डारीलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान बर्न सेन्टरले भनेपछि उनलाई बिहीबार भारत लगिएको हो । तर, ७० प्रतिशत शरीरको भाग जलेका हरिकलाको भने बिहीबार उपचारका क्रममा निधन भएको छ । 

३० प्रतिशत शरीरको भाग जलेको र धुवाँ स्वासनलीमा गएकाले सांसद भण्डारीको स्वास्थ्य थप जटिल बनेको हो । 
 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update