Public Pana
भारतमाथि रोमाञ्चक जित निकाल्दै श्रीलंका फाइनल नजिक

श्रीलंकाले युएईमा जारी टी- २० एसिया कपको सुपर फोरमा भारतमाथि ६ विकेटको रोमाञ्चक जित निकालेको छ।

लगातार दुई जितसँगै श्रीलंका फाइनल नजिक पुगेको छ। भारतको फाइनल पुग्ने सम्भावना अंक गणीतीय मात्र बाँकी छ ।

जितको लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

श्रीलंकालाई जितको लागि अन्तिम १२ बलमा २१ रन चाहिँएको थियो। भुवनेश्वर कुमारले १९ औं अ‍ोभरमा दुई चौकासहित १४ रन खर्चिएपछि भारतको जितको सम्भावना टाढिएको थियो।

अन्तिम ६ बलमा श्रीलंकालाई ७ रन चाहिँएको थियो । अर्शदीपसिंहले पहिलो बल भानुका राजपक्षेलाई एक रन दिए । दोस्रो बलमा एक रन दिए। तेस्रो बलमा दुई रन लिएपछि तीन बलमा तीन रन चाहिँएको थियो। चौथो बलमा एक रन खर्चिए। पाँचौं बल शनकाले मिस गरे पनि ऋषभ पन्तले स्टम्प ताक्नेक्रममा मिस गरेपछि श्रीलंकाले दुई रन लिँदै जित पक्का गर्‍यो

श्रीलंकाको जितमा ओपनर कुशल मेन्डिसले ३७ बलमा ४ चौका र ३ छक्कासहित ५७ रनमा आउट भए। योसँगै श्रीलंका अनौपचारिक रूपमा फाइनलमा स्थान बनाएको छ। भारत भने सुपर फोरबाटनै बाहिरिने लगभग पक्कापक्की भएको छ।

पाथुम निसंका ३७ बलमा ४ चौका र २ छक्कासहित ५२ रनमा आउट भए। चरिथ असलंका शून्यमा क्याच आउट भए।

पहिलो विकेटका लागि ओपनर पाथुम निसंका र कुशल मेन्डिसले ११.१ ओभरमा ९७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरूआत दिलाएका थिए। निसंका स्पिनर युजभेन्द्र चहलको बलमा रिभर स्वीप खेल्ने धुनमा रोहित शर्माबाट क्याच आउट भए ।

दासुन शनका १८ बलमा ४ चौका र १ छक्कासहित ३३ रनमा अविजित रहे । भानुका राजपक्षे १७ बलमा २ छक्कासहित २५ रनमा अविजित रहे । भारतका स्पिनर युजभेन्द्र चहलले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । रविचन्द्रन आश्विनले एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो।

भारतका कप्तान रोहित शर्माले ४१ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७२ रनमा आउट भए। सूर्यकुमार यादव २९ बलमा १ चौका र १ छक्कासहित ३४ रनमा आउट भए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

विराट कोहली शून्यमा बोल्ड आउट भए। कोहलीले यसअघि हङकङ र पाकिस्तानविरुद्ध लगातार अर्धशतक प्रहार गरेका थिए। कोहली चार बल खेले पनि खाता खोल्न सकेनन्।

हार्दिक पान्ड्या १३ बलमा १ छक्कासहित १७ रनमा आउट भए । ऋषभ पन्त १३ बलमा ३ चौकासहित १७ रनमा आउट भए । रविचन्द्रन आश्विन ७ बलमा १ छक्कासहित १५ रनमा अविजित रहे ।

तीव्र गतिका बलर दिलशान मदुशनकाले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । महेश थिक्सनाले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । चामिका करुणारत्नेले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । दासुन शनकाले २ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।

भारत पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । भारतले अन्तिम खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ । बुधबार अफगानिस्तान र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।

पाकिस्तानले शुक्रबार श्रीलंकासँग अन्तिम खेल खेल्नेछ। भारत फाइनल पुग्न पाकिस्तानले बाँकी दुबै खेल हार्नुपर्ने हुन्छ। अन्यथा एक खेल जितेको खण्डमा पनि भारत बाहिरिनेछ।

भारतले अफगानिस्तानमाथि फराकिलो जित हात पार्नुपर्छ । यदि पाकिस्तानले दुबै खेल हारे र भारतले अफगानिस्तानलाई हराए तीन टोलीको समान २-२ अंक हुनेछ। नेटरनरेटमा माथि रहँदै भारत फाइनल खेल्न सक्ने झिनो सम्भावना देखिन्छ।

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  ०५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update