Public Pana
सुदूरपश्चिम प्रदेशसभा बैठक सर्‍यो

धनगढी, २६ माघ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभामा विश्वासको मत लिन बोलाएको बैठक सरेको छ। रावलले विश्वासको मत लिने अन्तिम दिनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग सहमति हुन नसकेपछि बिहीबार अपरान्ह ४ बजेसम्मका लागि बैठक सरेको हो।

प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै  बैठक सरेको जनाकारी दिएको हाे । मुख्यमन्त्रीरावलले विश्वासको मत लिनका लागि बिहीबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । तर,  नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निश्चित अझै नगरेकाले बैठकको समय सारिएको हो ।

नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद काठमाडौंमा छन् । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो । नागरिक उन्मुक्ति पार्टीका सांसदले मत नदिए रावल नेतृत्वको सरकार ढल्छ । नागरिक उन्मुक्तिले आफ्ना नेता रेशम चौधरीको रिहाइ वा रिहाइको लिखित प्रतिबद्धता नगर्दासम्म विश्वासको मत नदिने अडान राखिरहेको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११, एमालेका १०, नाउपाका ७ र राप्रपाका १ जना सांसद छन् । नाउपाले विश्वासको मत नदिएको अवस्थामा सरकारलाई बहुमत (२७) पुग्दैन ।
 

‍( यसअघि बैठक बिहीबार अपरान्ह ४ बजेका लागि सर्‍याे हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएकाे छ ।)

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update