Public Pana
पोशाक लगाएर सामाजिक संजालमा पोष्ट गर्ने सशस्त्रका १२० जनामाथि विभागीय कारवाही

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले संगठनको निर्देशन विपरित सामाजिक संजालमा सशस्त्र प्रहरीको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्विर तथा भिडियो बनाई अपलोड गरेका १ सय २० जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई विभागिय कारवाही गरेको छ ।

उनीहरुले सशस्त्र प्रहरी बल नेपालको पोशाक लगाई भिडियो तथा तस्विर खिची व्यक्तिगत प्रोफाईलमा रहेको फेसबुक, म्यासेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, यूट्युव, इमो, वीच्याट लगायतका सामाजिक संजालमा अपलोड गरेका थिए ।

कारवाही परेकाहरुमा सशस्त्र प्रहरी नायव निरीक्षक ४ जना, सहयाक निरीक्षक ५ जना, बरिष्ठ हवल्दार ६ जना, हवल्दार ३ जना, सहायक हवल्दार ९ जना, जवान ९१ र परिचर २ रहेका छन् । उनीहरुलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई गराईएको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपालले संगठनको बारेमा प्रकाशित भएका समाचारहरुमा नकारात्मक टिका टिप्पणी गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत कारवाही गर्दै आएको छ । संगठनको नियम विपरित कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई नियमन गर्नको लागी सामाजिक संजाल अनुगमन सम्बन्धी शाखा स्थापना गरिएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालले सामाजिक संजालमा अमर्यादित ढंगको तस्विर तथा भिडियो बनाई अपलोड गर्ने २८ जना सशस्त्र प्रहरी कर्मचारीहरुमाथि विभागिय कारवाही गरी सोको विवरण यथासिघ्र खुलाई पठाउन मातहत कार्यालयहरुलाई निर्देशन दिएको छ ।

फागुन ४ गते मातहत कार्यालयहरुमा आदेशात्मक पत्राचार गर्दै कारवाही गर्न भनिएकाहरुमा सशस्त्र प्रहरी सहायक निरीक्षक ६ जना, सहायक हवल्दार १ जना, र जवान २१ जना रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update