Public Pana
ओडिशा घटनालाई गम्भीर रुपमा लिदै कूटनीतिक पहल सुरु गरिसकेका छौं- मन्त्री डा. राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिशास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको र त्यसपछि उत्पन्न विषयलाई गम्भीर रुपमा लिदै कूटनीतिक पहल सुरु गरिसकेको जानकारी दिएकी छन् ।

मन्त्री राणाले सामाजिक संजालमा लेख्दै भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई घटनाको वास्तविकता बुझ्न र नेपाली विद्यार्थीलाई परेको समस्याका बारेमा आवश्यक तत्परता लिइ काम गर्न निर्देशन दिएको उल्लेख गरेकी छन् ।

साथै मन्त्री राणाले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँग फोनमा कुरा गरेको र राजदुत श्रीवास्तवले नेपाली विद्यार्थीहरुको सुरक्षाका लागि आफूले आवश्यक पहल र समन्वय गरिहेको जानकारी दिएको बताएकी छन् ।   साथै यस विषयमा परराष्ट्र मन्त्रालयले पहल गरिरहेको र पछिल्लो अवस्थाका बारेमा जानकारी गराउने बताएकी छन् ।   
ओडिशास्थित केआईआईटी विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत तेस्रो वर्षकी नेपाली छात्रा प्रकृति लम्साल आइतबार साँझ होस्टेलको आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूका अनुसार उनलाई भारतीय विद्यार्थीले अश्लील भिडियोमार्फत पटक–पटक ब्ल्याकमेल गरिरहेको बताइएको छ ।

पीडित छात्राले दुई पटक अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) मा उजुरी दिए पनि विश्वविद्यालय प्रशासनले बेवास्ता गरेको नेपाली विद्यार्थीहरूले बताएका छन् । नेपाली विद्यार्थीहरूले आफूहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारसँग तत्काल पहल गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update