
जनकपुरधाम । केही दिनयता मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा अवैध तथा अनाधिकृत निजी अस्पतालमा बिरामीको चाप रहेको र मापदण्ड पुरा गरी सेवा सञ्चालन स्वीकृति प्राप्त गरेका अस्पतालका बेड खाली रहेको बताउँदै आएका छन् ।
उनले निजी अस्पतालसम्म बिरामी ओसार्न कमिसनको चलखेल गर्ने एम्बुलेन्स चालक र कुन्डलेमुन्डले सक्रिय रहेको अझ तिनीहरूले जथाभाबी निजी अस्पताल सञ्चालन गरिरहेको जनाउ ती मञ्चमा दिँदैआएका छन् ।
चर्को कमिसनपछि मात्र एम्बलेन्स चालकलगायत दलालले बिरामी पठाउने र त्यस स्तरको रकम मापदण्डअनुसारका सेवासुविधा दिने अस्पतालले दिन नसक्ने भएपछि अस्पताल सञ्चालनमै कठिनाइ हुँदैआएको वैध अस्पताल सञ्चालकहरूले गुनासो गर्दैआएका बेला मुख्यमन्त्री सिँह एम्बुलेन्स चालक बनेर एक निजी अस्पतालका सुरक्षागार्डसँग फोन संवाद गरेको भिडियो सार्वजनिक भएको छ ।
मुख्यमन्त्री सिंहले सरोज नाउँ गरेको ३११२ नम्बरको एम्बुलेन्स चालकको परिचय दिँदै आफूले मोटो रकम तिर्ने बिरामी लिएर आएको बताएपछि अस्पतालका सुरक्षागार्डले चेकिङका कारण जनकपुर मोडल अस्प्ताल आइतबार १२ बजे बन्द भएकाले नजिकका गोदावरी अस्पतालमा बिरामीलाई लैजान सल्लाह दिएका थिए ।
एम्बुलेन्स चालकको परिचयका साथ कुरा गरिरहेका मुख्यमन्त्री सिँहले गोदावरी अस्पतालले राम्रो कमिसन दिने कि नदिने प्रश्न गर्दा ती सुरक्षागार्डले त्यस विषयमा कुराकानी गर्नुपर्ने बताएको भिडियोमा सुन्न पाइन्छ ।
भिडियोमा सुरक्षागार्डले बोलका वाक्यमा सरकारी टोलीको अनुगमनपछि गलत तरिकाले अस्पताल सञ्चालन गर्नेमा ठूलो भय र त्रास छाएको स्पष्ट सुन्न सकिन्छ ।
जनकपुर मोडल अस्पताललगायतका निजी अस्पतालले एम्बुलेन्स चालकलाई बिरामी ल्याएबापत बिरामीको आर्थिक अवस्थाअनुसार कमिसन दिनेगरेको पुष्टि हुने सो भिडियो यतिबेला भाइरल बनेको छ ।
मुख्यमन्त्री नेतृत्वको सरकारी अनुगमन टोलीले जनकपुर मोडल अस्पतालका सञ्चालकलाई शनिबार र आइतबारको सिसिटिभी फुटेज लिएर सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएको छ ।