Public Pana
रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ ।  साहारा चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश भएको छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।

सरकारी वकिल कार्यालयले हिजो लामिछानेसहित १५ जनाविरुद्ध चितवन जिल्ला अदालतमा पूरक मुद्दा दर्ता गरेको थियो। त्यसअघि गत असोज ८ गते साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका पीडित बचतकर्ताको उजुरीको आधारमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवी राईसहित १७ जनाविरुद्ध मुद्दा दायर भएको थियो। त्यस बेलाका १७ जना र अहिले थप १५ सहित ३२ जनाविरुद्ध मुद्दा चलेको छ ।

३२ जनामध्ये रवि लामिछानेसहित २० जनालाई सहकारी गठीसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ । एउटै संस्थाका अध्यक्ष गितेन्द्रबाबु (जिवी) राई र अर्का सञ्चालक रहेका पूर्वडिआइजी छविलाल जोशीलाई भने ठगीमा मुलुकी अपराध संहिता २०७४ र संगठित अपराध (निवारण) ऐन २०७० दुवै कसुरमा मुद्दा चलाएको छ । प्रहरीले लामिछानेलाई संगठित अपराधमा मुद्दा चलाउने भन्दै जिल्ला अदालतबाट म्याद थपको दाबी गरेको थियो।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update