Public Pana
भदौमा विधान अधिवेशन गर्दै एमाले

काठमाडौं । नेकपा एमालेले भदौमा विधान अधिवेशन गर्ने भएको छ। मंगलबार बेलुका बसेको एमाले सचिवालय बैठकले पार्टीको विधान महाधिवेशन २०८२ साल भाद्र २०, २१ र २२ गते ललितपुरको गोदावरी सनराईज हलमा आयोजना गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । 

यस अगाडि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ऐतिहासिक प्रथम विधान महाधिवेशन २०७८ असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन भएको थियो। दुई महाधिवेशनको बीचको समय पारेर एमालेले विधान अधिवेशन बनाउने प्रावधान छ। विधान अधिवेशनले पार्टीको नीति र नेतृत्व कस्तो बनाउने तय गर्ने एमालेले जनाएको छ ।

महासचिव पोखरेलका अनुसार माघ, फागुन र चैत्र महिनामा वडा केन्द्रीत अभियान प्रभावकारी ढंगले सञ्चालन हुने र अभियानमा सम्पूर्ण पार्टी पंक्तिको परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउने निर्णय भएको छ ।

यसैगरी अनुमोदन गर्न बाँकी रहेका गण्डकी, कर्णाली र सम्पर्क समन्वय कमिटीले गरेको प्रदेश कमिटी सदस्यको मनोनयनलाई अनुमोदन गर्ने निर्णय भएको छ।

एमालेले राष्ट्रिय सभाका सदस्य एवम् पूर्व उपाध्यक्ष वामदेव गौतमसँग सहकार्य गर्दै जाने निर्णय भएको छ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update