काठमाडौँ । सरकारी नीतिमा आफ्नो छाप छोड्न चाहने कुनै पनि अमेरिकी राष्ट्रपतिका लागि कार्यकारी आदेश एउटा महत्त्वपूर्ण उपकरण हो । यस्तो देखिएको छ कि डोनाल्ड ट्रम्प ह्वाइट हाउस फर्केर समय खेर फाल्न चाहँदैनन् ।
राष्ट्रपति बनेदेखि पहिलो दिनमा नै उनले लगभग २०० कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् । यसमा कानुनी रूपमा बाध्यकारी आदेशहरू र सामान्यतया बाध्यकारी नभएका केही घोषणाहरू समावेश छन्।
शपथ लिनुअघि नै ट्रम्पले आर्टीसिफीयल इन्टेलिजेन्ससँग सम्बन्धित कार्यक्रमहरूलाई प्रवर्द्धन गर्ने, सरकारी दक्षता विभाग गठन गर्ने, १९६३ मा जोन एफ. केनेडीको हत्यासँग सम्बन्धित रेकर्डहरू सार्वजनिक गर्ने र आइरन डोम मिसाइलहरू दिने वाचा गरेका थिए । आफ्नो प्रारम्भिक कार्यकारी आदेशमा, ट्रम्पले आप्रवासन, टिकटक र घरबाट काम गर्ने सम्बन्धमा प्रमुख निर्णयहरू लिएका छन् ।
आफ्नो अघिल्लो कार्यकालमा, ट्रम्पले लगभग २२० कार्यकारी आदेशहरू जारी गरेका थिए, जसमध्ये केहीलाई अदालतमा चुनौती दिइएको थियो ।
कार्यकारी आदेश भनेको के हो?
यो राष्ट्रपतिले संघीय सरकारलाई जारी गरेको लिखित आदेश हो, जसलाई कांग्रेसको स्वीकृति आवश्यक पर्दैन । यी आदेशहरू नीति उल्टाउनेदेखि लिएर कुनै पनि साधारण सरकारी कामसम्म हुन सक्छन् । उदाहरणका लागि, २०१७ मा दुई विवादास्पद तेल पाइपलाइन निर्माणको लागि ट्रम्पको स्वीकृति र त्यसभन्दा पहिले, २०१५ मा क्रिसमसको पूर्वसन्ध्यामा सरकारी विभागहरूको लागि आधा दिनको बिदाको लागि बाराक ओबामाको निर्देशनसम्म ।
कार्यकारी आदेश जारी गर्ने अधिकार अमेरिकी संविधानको धारा दुईमा दिइएको छ । यसमा भनिएको छ, 'कार्यकारी शक्ति राष्ट्रपतिमा निहित हुनेछ ।'
राष्ट्रपतिले किन कार्यकारी आदेश जारी गर्छन् ?
कहिलेकाहीँ यी आदेशहरू युद्धको समयमा वा घरेलु स्तरमा संकटबाट बच्न दिइन्छ । फेब्रुअरी १९४२ मा, अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन डी. रुजवेल्टले लगभग १,२०,००० जापानी-अमेरिकीहरूका लागि हिरासत केन्द्रहरू सिर्जना गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । १९५२ मा, राष्ट्रपति ह्यारी ट्रुम्यानले हडतालबाट बच्न स्टील उद्योगलाई सरकारी नियन्त्रणमा ल्याउने आदेश जारी गरेका थिए ।
जनवरी २०, २०२१ मा, राष्ट्रपतिको रूपमा आफ्नो पहिलो दिनमा, जो बाइडेनले पेरिस जलवायु सम्झौतामा पुन: सामेल हुने प्रक्रिया सुरु गर्ने आदेशमा हस्ताक्षर गरेका थिए ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा औपचारिक रूपमा अमेरिकालाई यस सम्झौताबाट अलग्गिएका थिए भने दोस्रो कार्यकालमा पनि त्यस्तै आदेश जारी गरेर पेरिस सम्झौताबाट अमेरिका अलग भएको घोषणा गरेका छन् ।
के कार्यकारी आदेश उल्टाउन सकिन्छ ?
कार्यकारी आदेशले कानूनको दायरा भित्र काम गर्नुपर्छ । सिद्धान्ततः, प्रत्येक त्यस्तो आदेशको वैधता र ढाँचा कानूनी सल्लाह कार्यालयद्वारा समीक्षा गरिन्छ । यद्यपि, सधैं यस्तो हुँदैन । यदि कुनै आदेश स्वीकार्य सीमाभन्दा बाहिर रहेको ठानियो भने, यो कानुनी समीक्षाको विषय हुन सक्ने प्रावधान छ ।
अमेरिकी कांग्रेसले कार्यकारी आदेश खारेज गर्न कानून पनि पारित गर्न सक्छ । तर राष्ट्रपतिसँग यो कानूनमाथि भिटो प्रयोग गर्न मिल्ने अधिकार रहेको छ । कार्यकारी आदेशहरू प्रायः विवादास्पद हुन्छन् किनभने तिनीहरूले संसदको स्वीकृतिलाई बाइपास गर्छन्, जसले गर्दा राष्ट्रपतिलाई आफैंले काम गर्ने अधिकार हुन्छ । रिपब्लिकन सदस्यहरूले २०१० मा बाराक ओबामा प्रशासनले गरेका स्वास्थ्य सेवा परिवर्तनहरूको अंश विरुद्ध मुद्दा दायर गरेका थिए ।
रिपब्लिकन पार्टीले ओबामाले एकतर्फी रूपमा बीमा कभरेजको समयसीमा ढिलाइ गरेर आफ्नो संवैधानिक अधिकार नाघेको आरोप लगाएका थिए । केही मुस्लिम बहुल देशहरूमा यात्रामा ट्रम्पको प्रतिबन्ध पनि अत्यधिक विवादास्पद थियो, जुन ह्वाइट हाउस आएपछि बाइडेनले यो प्रतिबन्ध समाप्त गरेका थिए । राष्ट्रपतिले कांग्रेसका सदस्यहरूले धेरै ढिलो काम गरिरहेको महसुस गर्दा वा राष्ट्रपतिले नयाँ कानूनको विवरण स्पष्ट पार्नु पर्ने अवस्थामा पनि आदेश जारी गर्न सक्छन् ।
कार्यकारी आदेश कति जारी गरिएको छ ? फ्र्याङ्कलिन डी. रुजवेल्टले आफ्नो १२ वर्षे कार्यकालमा सबैभन्दा धेरै ३,७२१ आदेश जारी गरेका थिए । जबकि वुड्रो विल्सनले १,८०३ र क्याल्भिन कूलिजले १,२०३ आदेशमा हस्ताक्षर गरेका थिए । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा २२० कार्यकारी आदेशमा हस्ताक्षर गरे । यसको तुलनामा, जो बाइडेनले १६० वटा कार्यकारी आदेश जारी गरे । बाराक ओबामा र जर्ज डब्लु बुशले लगातार दुई कार्यकाल पूरा गरे । यस अवधिमा, ओबामाले २७७ आदेश जारी गरे र बुशले २९१ आदेश जारी गरेका थिए ।
के राष्ट्रपतिले आफ्नो पूर्ववर्तीको आदेश फिर्ता लिन सक्छन्?
हालैका समयमा, अमेरिकी राष्ट्रपतिहरूले आफ्ना पूर्ववर्तीहरूका कार्यहरू उल्टाउन कार्यकारी आदेशहरूको प्रयोग बढ्दो रूपमा गरिरहेका छन् । २०१७ मा, ट्रम्पले ओबामाकेयरलाई लक्षित गर्दै एक आदेशबाट यो सुरु गरेका थिए । बाइडेनले ट्रम्प प्रशासनले मेक्सिकोको सीमामा पर्खाल निर्माणका लागि रकम जुटाउन मद्दत गर्ने आदेशहरू फिर्ता लिए र केही मुस्लिम बहुल देशहरूमा यात्रा प्रतिबन्ध लगाए । बाइडेनले अमेरिकालाई पेरिस जलवायु सम्झौतामा फिर्ता ल्याए ।
अब ट्रम्पको दोस्रो कार्यकाल सुरु हुँदै गर्दा, उनले विश्व स्वास्थ्य संगठनबाट अमेरिकाको फिर्ता, क्यापिटल हिल हिंसामा संलग्न अभियुक्तहरूलाई माफी, अमेरिकामा टिकटकको सञ्चालन, अमेरिकाको दक्षिणी सिमानामा राष्ट्रिय आपतकालको घोषणा लगायत धेरै महत्त्वपूर्ण कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका छन् ।